मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध, सांसद राईको विरोधपछि १५ मिनेटका लागि स्थगित


काठमाडौं ।

बजेटमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्रीहरू बैठकमा अनुपस्थित रहेको भन्दै सांसदहरूले आपत्ति जनाएपछि सोमबारको प्रतिनिधिसभा बैठक केही समयका लागि अवरुद्ध भएको छ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा बोल्न रोष्ट्रममा पुगेका नेकपा (एमाले) का सांसद राजेन्द्र राईले सम्बन्धित मन्त्रालयका मन्त्रीहरू उपस्थित नभएसम्म आफ्नो धारणा नराख्ने बताएका थिए। उनले बैठक कक्षमा दुई जना मन्त्री मात्र उपस्थित रहेको उल्लेख गर्दै बाँकी मन्त्रीहरू अनुपस्थित हुँदा सांसदहरूको भनाइ सरकारसम्म नपुग्ने जिकिर गरे।

सांसद राईले सम्बन्धित मन्त्रीहरूलाई बैठकमा उपस्थित गराउन सभामुखको ध्यानाकर्षण गराउँदै मन्त्रीहरू नआएसम्म आफूले बोल्न नसक्ने अडान लिए। उनले संसद्को गरिमा र संसदीय अभ्यासअनुसार बजेटमाथिको छलफल हुँदा सम्बन्धित मन्त्रीहरूको उपस्थिति अनिवार्य हुनुपर्ने बताए।

सभामुख डोलप्रसाद अर्यालले सांसद राईको ध्यानाकर्षणलाई गम्भीर रूपमा लिएको जनाउँदै निर्धारित कार्यसूचीअनुसार अघि बढ्न आग्रह गरेका थिए। तर राईले मन्त्रीहरू अनुपस्थित रहँदा छलफलको औचित्य नरहने भन्दै आफ्नो अडान कायम राखे।

यस क्रममा सभामुख अर्याल र सांसद राईबीच केहीबेर संवादसमेत भएको थियो। राईले सभामुखलाई संसदीय थिति र परम्परा कायम राख्न आग्रह गर्दै मन्त्रीहरूको अनुपस्थितिलाई सामान्य रूपमा लिन नहुने बताएका थिए।

बैठकको वातावरण सहज बन्न नसकेपछि सभामुख अर्यालले स्थिति व्यवस्थापनका लागि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

संसद् सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल जारी छ। बजेटमाथिको छलफलका क्रममा मन्त्रीहरूको उपस्थिति र जवाफदेहिताको विषयलाई लिएर सांसदहरूले पटक–पटक प्रश्न उठाउँदै आएका छन्।

सांसदहरूले बजेटमाथि उठाएका प्रश्न, सुझाव र आलोचनाको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने संसदीय अभ्यास रहेकाले मन्त्रीहरूको अनुपस्थितिले संसद्को प्रभावकारितामाथि प्रश्न उठेको भन्दै केही सांसदहरूले असन्तुष्टि जनाएका छन्।