काठमाडौँ ।
कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा टेम्पोलाई भीरबाट खसालिएको घटनाले राष्ट्रिय ध्यान तानेपछि सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्। समितिलाई घटनाको वस्तुस्थिति अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताइएको छ।
यता, घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा सहभागी अन्य व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान भइरहेको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा वन कर्मचारीहरूको समूहले टेम्पोलाई धकेलेर भीरबाट खसालेको देखिएपछि चौतर्फी आलोचना भएको थियो। टेम्पो सञ्चालक पक्षले आफ्नो जीविकोपार्जनको माध्यम रहेको सवारीसाधन जानीजानी नष्ट गरिएको आरोप लगाएको छ।
तर डिभिजन वन कार्यालय कैलालीले भने टेम्पो वन क्षेत्र अतिक्रमण गरेर सञ्चालन गरिएको संरचनाका रूपमा प्रयोग भइरहेको दाबी गर्दै हटाउने क्रममा अनियन्त्रित भएर खसेको जनाएको छ। कार्यालयले कर्मचारीहरूले नियोजित रूपमा टेम्पो भीरबाट नखसालेको स्पष्ट पारेको छ।
घटनापछि स्थानीयवासी, मानवअधिकारकर्मी तथा नागरिक समाजले तल्लो तहका कर्मचारी मात्र होइन, निर्णय प्रक्रियामा संलग्न उच्च अधिकारीहरूको भूमिकासमेत छानबिन गर्न माग गरेका छन्। अहिले सबैको चासो छानबिन समितिको प्रतिवेदन र त्यसपछि हुने कारबाहीतर्फ केन्द्रित भएको छ।











प्रतिक्रिया