काठमाडौं ।
फिफा विश्वकप समूह चरणको रोमाञ्चक खेलमा आइभरी कोस्टले अन्तिम मिनेटमा गोल गर्दै इक्वेडरलाई १–० ले पराजित गरेको छ। खेलको नायक बने म्यानचेस्टर युनाइटेडका फरवार्ड अमाद डियालो, जसले ‘सुपर सब’ रूपमा मैदान प्रवेश गरेपछि निर्णायक गोल गरेका हुन्।
खेलको ९०औँ मिनेटमा विल्मफ्रेड सिंगोको उत्कृष्ट क्रस पासलाई डियालोले संयमित रूपमा फिनिस गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए। खेलभर दुवै टोलीले अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा खेल बराबरीतर्फ जाँदै गर्दा अन्तिम क्षणमा आइभरी कोस्टले बाजी मारेको हो।
यस जितसँगै आइभरी कोस्ट समूह चरणमा महत्वपूर्ण तीन अंक जोड्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ। इक्वेडरले भने लगातार अवसर गुमाउँदा हार बेहोर्नु परेको हो।
खेलमा इक्वेडरका खेलाडीहरूले दुई पटक पोस्टमा प्रहार गरेका थिए भने आइभरी कोस्टले पनि एक पटक गोलपोस्टलाई चुनौती दिएको थियो। तर अन्तिम क्षणमा डियालोको प्रभावशाली प्रदर्शनले खेलको नतिजा परिवर्तन गरिदियो।
अहिले आइभरी कोस्टको जितलाई समूह चरणको “टर्निङ प्वाइन्ट” मानिएको छ, जसले आगामी खेलहरूमा प्रतिस्पर्धा अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया