कैलाली टेम्पो काण्डमा नयाँ मोड: १० वन कर्मचारी पक्राउ, उच्च अधिकारीमाथि छानबिनको माग


काठमाडौं ।

कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा टेम्पोलाई भीरबाट खसालिएको घटनाले नयाँ मोड लिएको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयले चासो देखाएपछि प्रहरीले घटनामा संलग्न १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र इलाका प्रहरी कार्यालय मालाखेतीले ४ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका सबै वन रक्षक तहका जुनियर कर्मचारी हुन्। घटनापछि जिल्ला वन अधिकृत रामविचारी ठाकुरसहित उच्च पदस्थ कर्मचारीहरू जिल्ला प्रशासन कार्यालय कैलालीमा छलफलमा जुटेका छन्। वन क्षेत्र अतिक्रमण गरी टेम्पोमा खोका पसल सञ्चालन भइरहेको भन्दै हटाउने क्रममा टेम्पो भीरमा खसेको वन कार्यालयको दाबी रहे पनि भिडियो सार्वजनिक भएपछि घटनाको निष्पक्ष छानबिनको माग चर्किएको छ।