सहकारी पीडितको पैसा करबाट तिरे सरकारको पतन सुरु हुन्छ : दुर्गा प्रसाईं


काठमाडौं ।

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सहकारी पीडितको रकम जनताको करबाट भुक्तानी गर्न खोजिए वर्तमान सरकारको पतन सुरु हुने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रसाईंले सहकारीमा भएको ठगीको भार राज्यले करदातामाथि थोपर्न नहुने बताए ।

उनले सरकारले सहकारी पीडितलाई राहत दिने नाममा जनताको करबाट रकम भुक्तानी गर्न खोजे त्यसले सरकारमाथि थप दबाब सिर्जना गर्ने र त्यसैबाट सरकारको ‘दशा सुरु हुने’ दाबी गरे ।

प्रसाईंले मुलुकमा चाँडै आन्दोलन हुने दाबी गर्दै वर्तमान शासन व्यवस्था टिकाउ नभएको टिप्पणी गरे । उनले आन्दोलनले वर्तमान व्यवस्थामाथि प्रश्न उठाउने र राजनीतिक परिवर्तनको आधार तयार पार्ने जिकिर गरे ।

कार्यक्रममा उनले सरकार किसान, सहकारी पीडित तथा स्वास्थ्य क्षेत्रका समस्याप्रति गम्भीर नभएको आरोप पनि लगाए । किसानले मल नपाएको, दूध किसानले भुक्तानी नपाएको तथा स्वास्थ्य बीमाको रकम निजी अस्पतालले प्राप्त गर्न नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रसाईंले सहकारी ठगीमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही हुनुपर्ने उल्लेख गर्दै जनताको करबाट उनीहरूको दायित्व वहन गर्न नहुने धारणा राखे ।