विराटनगर ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कांग्रेस व्यावहारिक रूपमा विभाजित भइसकेको बताएका छन्। आइतबार विराटनगरमा आयोजित संस्थापन–इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले पार्टीको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे।
कांग्रेस अहिले अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै डा. कोइरालाले वर्तमान नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए। उनले भने, “के गगन थापाले एक्लै पार्टी सञ्चालन गर्न सक्नुहुन्छ ?” पार्टी सुधारका लागि नेतृत्वले अरूलाई दोष दिनुभन्दा पहिले आफ्नै सोच र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको उनको भनाइ थियो।
कोइराला निवास पुगेको प्रसङ्ग स्मरण गर्दै उनी भावुक बने। उनले भने, “आज कोइराला निवास पुगेँ, आँखाबाट आँसु झर्यो। कांग्रेस आज विभाजित भएको छ, यसलाई विभाजन गराइएको छ। अदालतले कोरेको विभाजनको रेखा गलत थियो।”
पार्टीभित्रको आन्तरिक विवाद र गुटगत संघर्षका कारण गाउँगाउँमा कांग्रेसका कार्यकर्ता भए पनि त्यसको प्रभाव मतमा रूपान्तरण हुन नसकेको उनले बताए। उनले अब सबैलाई एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
डा. कोइरालाले पार्टीलाई पुनः एकताबद्ध गर्ने अभियानको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेको उल्लेख गर्दै त्यस अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहने स्पष्ट पारे। कांग्रेसलाई बलियो, सुदृढ र जनविश्वासयोग्य बनाउन अहिलेको प्रमुख आवश्यकता पार्टी एकता नै भएको उनको भनाइ थियो।
उनको अभिव्यक्तिलाई कांग्रेसभित्र बढ्दो असन्तुष्टि र आगामी महाधिवेशनको तयारीसँग जोडेर हेरिएको छ। शशांक कोइरालाको भनाइले पार्टीभित्र नेतृत्व, संगठन र एकताको विषय पुनः बहसको केन्द्रमा पुगेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।











प्रतिक्रिया