जन्मदिनमा मनिष मिश्रको सामाजिक पहल : ‘शहीद सन्तति वृत्ति कोष’मा रकम बढेर १ लाख १ हजार पुग्यो


काठमाडौं ।

नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्र ले शहीद परिवारका सन्ततिहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गर्न लागिएको ‘लोकतान्त्रिक शहीद सन्तति वृत्ति कोष’मा थप ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। आफ्नो जन्मदिनको अवसरमा उनले कोषमा थप रकम जम्मा गर्ने घोषणा गरेसँगै कोषको रकम १ लाख १ हजार रुपैयाँ पुगेको छ। मिश्रले गत वर्षको जन्मदिनमा प्रारम्भिक रूपमा ५१ हजार रुपैयाँबाट कोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

मिश्रका अनुसार शहीदहरूको त्याग र बलिदानको सम्मान गर्दै उनीहरूका परिवार, विशेषगरी सन्ततिहरूको शैक्षिक भविष्यलाई सहयोग गर्ने उद्देश्यले कोष स्थापना गर्ने अवधारणा अघि सारिएको हो। राजनीतिक तथा प्रशासनिक कारणले योजना कार्यान्वयनमा केही ढिलाइ भए पनि अब यसलाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताएका छन्।

मधेशका विभिन्न जिल्लामा भ्रमणका क्रममा शहीद परिवारको आर्थिक तथा सामाजिक अवस्था नजिकबाट अवलोकन गरेपछि सहयोगको आवश्यकता महसुस भएको र त्यसैको परिणामस्वरूप कोष स्थापना गर्ने निर्णय गरिएको मिश्रको भनाइ छ। उनले निकट भविष्यमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सञ्चालक समिति गठन गर्ने जानकारी पनि दिएका छन्।

उक्त समिति शहीदप्रति सम्मानभाव राख्ने व्यक्तिहरूको सहभागितामा गठन गरिने र कोषलाई व्यक्तिगत नभई सामूहिक अभियानका रूपमा सञ्चालन गरिने उनले स्पष्ट पारे। मिश्रले देशभरिका इच्छुक व्यक्ति, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूलाई कोषमा योगदान गर्न आह्वान गर्दै यसको कार्यक्षेत्र मेचीदेखि महाकालीसम्म विस्तार गर्ने लक्ष्य रहेको बताए।

जन्मदिनलाई व्यक्तिगत उत्सवभन्दा सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको यो पहलले शहीद परिवारका सन्ततिहरूको शिक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।