काठमाडौं ।
नेपाल मेडिकल काउन्सिलले काठमाडौंको बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रालि) लाई सिलबन्दी गरेको छ। काउन्सिलले गरेको स्थलगत अनुगमनका क्रममा अस्पताल आवश्यक कानुनी अनुमति तथा क्लिनिकल मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको भेटिएपछि सिलबन्दीको निर्णय गरिएको हो।
नेपाल मेडिकल काउन्सिलले बिहीबार जारी गरेको सूचनाअनुसार अनुगमनका क्रममा अस्पतालमा विदेशी चिकित्सकहरूबाट गैरकानुनी रूपमा बिरामीहरूको स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान भइरहेको फेला परेको थियो। काउन्सिलका अनुसार ती चिकित्सकहरूले नेपालमा चिकित्सा अभ्यास गर्न आवश्यक दर्ता तथा स्वीकृति प्राप्त नगरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
काउन्सिलले स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी प्रचलित कानुन र चिकित्सा व्यवसायसम्बन्धी मापदण्ड उल्लङ्घन भएको निष्कर्षसहित अस्पताललाई तत्काल सिलबन्दी गरेको जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान अघि बढाइएको र संलग्न व्यक्ति तथा संस्थामाथि कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने काउन्सिलले स्पष्ट गरेको छ।
मेडिकल काउन्सिलले सर्वसाधारणलाई स्वास्थ्य सेवा लिनुअघि सम्बन्धित स्वास्थ्य संस्था र चिकित्सकको वैधानिकता तथा दर्ता स्थिति यकिन गर्न समेत आग्रह गरेको छ। काउन्सिलले अनुमति नलिई सञ्चालन हुने तथा गैरदर्तावाला चिकित्सकबाट सेवा प्रदान गर्ने संस्थामाथि अनुगमनलाई थप कडा बनाइने जनाएको छ।
यस घटनाले राजधानीमै स्वास्थ्य क्षेत्रको नियमन र अनुगमनको प्रभावकारितामाथि प्रश्न उठाएको छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कानुनी प्रक्रिया मिचेर सञ्चालन हुने संस्थामाथि कडा निगरानी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।











प्रतिक्रिया