एक करोडभन्दा बढीको बिमा दाबी गर्ने योजना असफल, पसल मालिक नै चोरी प्रकरणमा पक्राउ

1.41k
Shares

बुटवल। 

बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा चोरीको घटना बारे रहस्य खुलासा भएको छ । 

सुनका गरगहँना तथा काँचो सुन गरी करिब ८० तोला सुन हराएको भनी दाबी गरिएको यो घटनामा मुख्य योजनाकार पसल मालिक स्वयम् भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । सुन चाँदी पसलमा यही जेठ १७ गते राति चोरी भएको थियो । घटना बारे एक हप्ताको अनुसन्धानबाट चोरीमा  पसलका सञ्चालक मालिक दीपक सेन्चुरी र कर्मचारी नवीन विकको संलग्नता पुष्टि भएको  रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताउनु भयो ।

 चोरी भएको मध्ये ५ तोला सुन र २५ तोला चाँदी पसल मालिक दीपकको घरबाट बरामद भएको प्रहरी उपरीक्षक शाहीले बताउनु भयो  ।   पसलका सञ्चालक दीपक सेन्चुरीले  करिब ७० तोला बराबरको सुनका गहना ,काचो सुन  र चादी चोरी भएको प्रहरीलाई बताएका थिए ।  रातको समयमा पसलको च्यानल गेटको ताला खोलेर सटरलाई एक फुट माथि तानेर चोर भित्र पसेको र सुन र गहना राखिएको लकरको तालालाई करिब ५० वटा फरक फरक चाबी प्रयोग गरेर लकर  खोली सुन र गहना लिएर गएको पाइएको थियो । चोरी हुँदाको समयमा   पसल सञ्चालक दीपक सेन्चरी पोखरा गएको  प्रहरीलाई बताए पनि अनुसन्धानबाट उनी बुटवलमा रहेको पाइएको प्रहरी ले जनाएको छ । 

 पसलको सिसिटीभी क्यामेरा बिग्रेको समयमा चोरी भएकाले घटना शंकास्पद देखिएको प्रहरीको अनुमान थियो ।  चोरीको घटना जेठ १७ गते  राति भएपनि दीपकले आफू पोखराबाट फर्किँदै गरेको बताएर  सोमबार सांझ अबेर  प्रहरीलाई चोरीबारे जानकारी गराएका थिए । चोरीको घटना पछि पसल सञ्चालकले एक करोड ४६ लाख ९४ हजार सात सय बरावरको सुनचाँदीका गरगहनाहरु चोरी भएको बताएका थिए ।  पसलको बिमा दाबी गर्न र अन्य मानिसहरुले पसलमा राख्न दिएको सुन र पैसा फिर्ता गर्न नपर्ने सोची योजनावद्ध रुपमा चोरीको नाटक गरेको हुदाँ दिपक  र नबिन बि.क. लाई पक्राउ गरी आपराधिक विश्वासघात मुद्दामा म्यादथप भई थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय  बुटवलका प्रमुख डी एस पी निशान्त श्रीवास्तवले बताउनु भयो ।   

घटना बारे थप अनुसन्धान जारी रहेको उहांले बताउनु भयो । उक्त पसल भाडाको सटरमा करिब ४० वर्षदेखि सञ्चालनमा रहेको थियो ।  पसलमा एकजना आफन्त र एकजना कामदार गरी दुई जना कर्मचारी थिए । प्रारम्भिक अनुसन्धानमा पसलको सिसिटिभी क्यामेरा बिग्रेको जानकारी भएको व्यक्तिको घटनामा संलग्नता हुन सक्ने प्रहरीले अनुमान गरेको थियो । सोही अनुसार प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा सञ्चालक र आफन्त समेत रहेका कर्मचारी नवीनको नै संलग्नता भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक श्रीवास्तवले बताउनु भयो । सिसिटिभि फुटेजको सहयोगले दीपक र नवीन चोरीमा संलग्न भएको पता लगाउन सकिएको प्रहरीले बताएको छ ।