काठमाडौं ।
नेपाल र भारतबीच रियल–टाइम क्रस–बोर्डर डिजिटल भुक्तानी तथा रेमिट्यान्स सेवा औपचारिक रूपमा सुरु भएको छ। भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन इन्टरनेशनल (NIPL) र नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) बीचको सहकार्यमा यो सेवा सञ्चालनमा आएको हो।
यससँगै भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) लाई इन्टिग्रेट गरिएको छ, जसबाट दुवै देशका प्रयोगकर्ताबीच व्यक्ति–देखि–व्यक्ति (P2P) रकम स्थानान्तरण रियल–टाइममा गर्न सकिने भएको छ।
नयाँ प्रणालीमार्फत प्रयोगकर्ताले मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) प्रयोग गरी भारत–नेपालबीच रकम पठाउन सक्नेछन्। यसले बैंक खाताको संवेदनशील विवरण आदान–प्रदान गर्नुपर्ने झन्झट हटाउँदै सुरक्षित, सरल र छिटो भुक्तानी सेवा उपलब्ध गराउने दुवै संस्थाले जनाएका छन्।
कार्यक्रममा NIPL का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला ले नेपालसँगको सहकार्यलाई महत्वपूर्ण उपलब्धि भन्दै रियल–टाइम, कम लागत र सुरक्षित क्रस–बोर्डर भुक्तानी प्रणाली विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान ले यो सहकार्यले डिजिटल भुक्तानी प्रणालीलाई विस्तार गर्दै दुवै देशका लाखौँ प्रयोगकर्ता तथा व्यवसायलाई लाभ पुग्ने बताएका छन्।
यो सेवा प्रारम्भिक चरणमा केही बैंकमार्फत उपलब्ध हुनेछ र क्रमशः अन्य बैंकहरूमा पनि विस्तार गरिने जनाइएको छ।
विशेषज्ञहरूका अनुसार UPI–NPI इन्टिग्रेसनले भारत–नेपाल आर्थिक करिडोरलाई अझ सुदृढ बनाउने, रेमिट्यान्स लागत घटाउने र वित्तीय समावेशिकरणलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया