मकालु वाइन इन्डस्ट्रीजद्वारा आईपीओ जारी गर्ने तयारी


काठमाडौं ।

नेपालकै पहिलो वाइन उद्योगका रूपमा परिचित मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ।

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता सेयर प्रति कित्ता रु. १०० अंकित मूल्यमा निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा Reliable Investment and Merchant Capital Ltd. लाई नियुक्त गरिएको कम्पनीले जनाएको छ। यससम्बन्धी सम्झौतामा मकालु वाइन इन्डस्ट्रिजका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।

वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको कम्पनीले समुद्र सतहदेखि करिब २,८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा चुत्रो र ऐँसेलुजस्ता जंगली फलबाट अर्गानिक “हिंवा वाइन” उत्पादन गर्दै आएको छ।

कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ भने देवश्री भेन्चर, हार्भेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट र स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ।

कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारीसमेत गरेको जनाएको छ।

आईपीओ निष्काशनसँगै नेपालको अर्गानिक वाइन उद्योगलाई पूँजी बजारसँग जोड्ने महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ।