बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट घोषित तथा प्रतिस्पर्धामा सहभागी ६ चिनियाँ फिल्मको राजधानीमा प्रदर्शन सम्पन्न भएको छ।
महोत्सवको प्रवद्र्धन कार्यक्रम तियानतान अवार्ड प्यानोरामाअन्तर्गत ठमेलस्थित छाया सेन्टरमा तीन दिनसम्म आयोजित फिल्म प्रदर्शनमा विभिन्न विधाका चिनियाँ फिल्महरू देखाइएको थियो। चीन फिल्म प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवले नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो। आयोजकका अनुसार तीन दिनमा सञ्चालन भएका ९ शोमार्फत करिब १४ सय दर्शकले फिल्म अवलोकन गरेका छन्। प्रदर्शनमा सहभागी दर्शकले आफूलाई मन परेका चिनिया फिल्म नेपालमा नियमित तथा व्यावसायिक रूपमा प्रदर्शन हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।
प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कार्यक्रमले चिनियाँ फिल्मकर्मीमा नेपाली बजारप्रति सकारात्मक चासो बढाएको बताए। उनका अनुसार यस्ता कार्यक्रमले नेपाल र चीनबीचको फिल्म आदानप्रदानलाई थप मजबुत बनाउनेछ।
नेपालका लागि चिनिया दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर चोउ पानले नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानमा फिल्मको महत्वपूर्ण भूमिका रहेको बताए। उनले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म जोड्न फिल्म प्रभावकारी माध्यम बनेको उल्लेख गरे।
कार्यक्रम ट्रयाप्ड, बियोन्ड द स्काइज, समर डायरी, द स्याडोलेस टावर, जर्नी टु द वेस्ट।, लस्ट इन द स्टार्स, द स्याडोलेस टावर र जर्नी टु द वेस्ट नामका फिल्म प्रदर्शन गरिएको थियो। कार्यक्रममा ट्रयाप्डका निर्देशक सागर झाङले फिल्म प्रदर्शनपछि नेपाली दर्शकसग प्रत्यक्ष संवाद गरेका थिए। उनले फिल्ममा आप्mना किशोरावस्थाका केही अनुभव र सम्झनालाई समेटिएको बताए।
सस्पेन्स–क्राइम जनरामा निर्माण भएको उक्त फिल्मले सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध लागू हुनुभन्दा एक वर्षअघि जेलबाट फरार एक अपराधीले सहरमा सिर्जना गरेको आतंकको कथा प्रस्तुत गर्छ। त्यसैगरी, झिहाई लिउद्वारा निर्देशित बियोन्ड द स्काइज युद्धको पृष्ठभूमिमा आधारित फिल्म हो। महोत्सवअन्तर्गत प्रदर्शन गरिएका फिल्मले चिनियाँ समाज, इतिहास, सम्बन्ध, युद्ध, रहस्य र समकालीन जीवनका विविध आयामलाई प्रस्तुत गरेका थिए।











प्रतिक्रिया