हलो र डोकोबाट हलीको संघर्ष चित्रण


आगामी साउन २२ गते रिलिजमा आउने फिल्म हलीको तेस्रो पोस्टर सार्वजनिक गरिएको छ। जापुरा फिल्म्स् प्रोडक्सन र शुभ चिरायू फिल्म्स्को सहकार्यमा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठद्वारा निर्मित फिल्मले ग्रामीण श्रमजीवी वर्गको कथा र सामाजिक रूपान्तरणको सन्देशलाई केन्द्रमा राखेको छ।

सार्वजनिक पोस्टरले सामाजिक भावलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ। पोस्टरमा काँधमा हलो बोकेका एक पुरुष र नाम्लो–डोको बोकेर गम्भीर मुद्रामा रहेकी एक महिलालाई केन्द्रमा राखिएको छ। पृष्ठभूमिमा पहाडी भेगको परम्परागत ढुंगे घर र ढोकाबाट बाहिर चियाइरहेकी एक महिलाको आकृति प्रस्तुत गरिएको छ। पोस्टरले नेपाली ग्रामीण जीवन, कृषि संस्कार र श्रमस“ग जोडिएको संघर्ष झल्काउने प्रयास गरेको छ। फिल्मको कथा वास्तविक जीवनका घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ। फिल्मले समाज र देशमा परिवर्तन ल्याउनका लागि एक जना हली श्रमजीवी नै पर्याप्त हुन सक्छ भन्ने सन्देश दिन खोजेको छ।

ओम प्रतीकको लेखन र निर्देशनमा बनेको फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारले अभिनय गरेका छन् भने निर्देशक ओम प्रतीक स्वयं पनि मुख्य भूमिकामध्ये एकमा देखिनेछन्।

फिल्मको विशेष आकर्षणका रूपमा समावेश गरिएको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति दिएका छन्। उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। फिल्मका अन्य गीतमा भने ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा कोरियोग्राफी गरेका छन्।

अर्जुन भुसाल कार्यकारी निर्माता, नम्रता भण्डारी सह–निर्मात्री र लक्ष्मण बज्राचार्य लाइन प्रोड्यूसर रहेको फिल्ममा शम्भुजित बास्कोटा, जश्मिन श्रेष्ठको शब्द रचना, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत, बाबुल गिरी र शान्ति श्री परियारको स्वर, कुमार महर्जनको द्वन्द्व निर्देशन, राहुल राईको छाया“कन तथा रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन रहेको छ। फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ।