काठमाडौं ।
भारतीय फिल्म तथा टेलिभिजन क्षेत्रका चर्चित अभिनेता राकेश बेदी आइतबार आफ्नो पछिल्लो फिल्म ‘है जवानी तो इश्क होना है’ को प्रवर्धनका लागि काठमाडौं आइपुगेका छन्। उक्त फिल्म हाल नेपालभर प्रदर्शनरत छ।
फिल्मको प्रवर्धनका लागि वितरण कम्पनी नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपले बेदीलाई नेपाल आमन्त्रण गरेका हुन्। काठमाडौंमा आयोजना गरिएका विभिन्न हल भ्रमण कार्यक्रममा उनले सहभागी भई दर्शकसँग प्रत्यक्ष भेटघाट गर्नेछन्।
उनको नेपाल भ्रमणको व्यवस्थापन चलचित्र वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका हुन्। यो टोली नेपालमा प्रदर्शन भइरहेको अर्को भारतीय फिल्म ‘पेड्डी’ सँग पनि आबद्ध रहेको बताइएको छ।
दुई दिने नेपाल बसाइका क्रममा बेदीले राजधानीका विभिन्न चलचित्र हलको भ्रमण गर्ने, दर्शकसँग अन्तरक्रिया गर्ने तथा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा–आराधना गर्ने कार्यक्रम तय गरिएको छ।
नियोम फिल्म्सका नवीन शाक्यका अनुसार सोमबार मण्डला थिएटरमा आयोजना हुने नेपाल–भारत सांस्कृतिक आदानप्रदानसम्बन्धी पत्रकार सम्मेलनमा पनि बेदी सहभागी हुनेछन्।
आयोजकले यस भ्रमणले नेपाली र भारतीय चलचित्र उद्योगबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै चलचित्रमार्फत दुवै देशका दर्शकबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्य रहेको जनाइएको छ।
राकेश बेदी भारतीय मनोरञ्जन क्षेत्रका लोकप्रिय कलाकारमध्ये एक हुन्। करिब पाँच दशक लामो अभिनय यात्रामा उनले ‘चश्मे बद्दूर’, ‘हीरो नम्बर १’, ‘दिल है कि मानता नहीं’ लगायत दर्जनौं चलचित्र तथा चर्चित टेलिशृंखलामा अभिनय गरेका छन्।
उनको पछिल्लो फिल्म ‘धुरन्धर २’ नेपालमा यस वर्ष सर्वाधिक कमाइ गर्ने विदेशी चलचित्र बनेको छ। उक्त फिल्ममा उनले ‘जमील जमाली’ नामक प्रभावशाली पात्र निर्वाह गरेका छन्।
फिल्ममा सुरुमा पाकिस्तानी राजनीतिज्ञका रूपमा प्रस्तुत हुने उनको पात्र क्लाइम्याक्समा महत्वपूर्ण मोडसँग जोडिएको छ, जसले दर्शकमाझ व्यापक चर्चा बटुलेको थियो। बक्स अफिसमा पनि फिल्मले उत्कृष्ट व्यापार गर्दै सन् २०२६ का सबैभन्दा सफल बलिउड चलचित्रमध्ये आफ्नो स्थान सुरक्षित गरेको छ।











प्रतिक्रिया