सिरहा ।
एसईई र कक्षा–१२ को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शनको घोषणा गरेका छन्।
संयुक्त विद्यार्थी संगठनले सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि प्रदर्शन गर्ने जनाएको छ। ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने नारासहित आयोजना हुने प्रदर्शनमा सम्पूर्ण विद्यार्थीलाई सहभागी हुन आह्वान गरिएको छ।
विद्यार्थी संगठनहरूले जफत गरिएका मोबाइल तथा स्मार्ट घडीको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थीमाथि भएको अन्यायको अन्त्य गर्न र पीडितलाई न्याय दिन माग गरेका छन्। अनेरास्ववियु मधेश प्रदेश संयोजक सतिशचन्द्र सिंहले सम्बन्धित निकायको ध्यानाकर्षण गराई विद्यार्थीका माग सम्बोधन गराउन दबाब सिर्जना गर्ने उद्देश्यले आन्दोलन गर्न लागिएको बताए।
जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई र कक्षा–१२ परीक्षाका क्रममा जफत गरिएका करिब ५०० मोबाइल फोन र स्मार्ट घडी नष्ट गरेको थियो। प्रशासनका अनुसार सात वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्ट वाच बरामद गरिएको थियो। ती उपकरणको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
मोबाइल नष्ट गर्ने प्रशासनको निर्णयप्रति विद्यार्थी, अभिभावक तथा कानुन व्यवसायीहरूले आपत्ति जनाउँदै क्षतिपूर्ति र न्यायको माग गरेका छन्।











प्रतिक्रिया