जनकपुरधाम । धनुषा, सुनसरी र सिरहामा भएका घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ।
सद्भाव र्याली सम्पन्न भएपछि स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै नाराबाजी गरेका हुन्। प्रदर्शनकारीहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पीडितलाई न्याय दिन र अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन प्रशासनसँग माग गरेका छन्।
उनीहरूले समाजमा शान्ति, सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य पक्ष थप संवेदनशील बन्नुपर्ने बताएका छन्।
यसअघि जनकपुरधाममा सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा सद्भाव र्याली आयोजना गरिएको थियो। र्यालीमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सरकारी कर्मचारी, धार्मिक अगुवा, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधामको पहिचान नै सामाजिक सद्भावमा आधारित रहेको भन्दै यसको संरक्षण सबैको जिम्मेवारी भएको बताए। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले पनि शान्ति र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।











प्रतिक्रिया