काठमाडौं ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी ले संसदबाट पारित भइसकेको आर्थिक विधेयकमा सरकारले आफूखुसी संशोधन गरी करका दर हेरफेर गरेको भन्दै कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले आर्थिक विधेयक टेबल भइसकेपछि ‘त्रुटि सुधार’को नाममा पत्र पठाएर करका दर परिवर्तन गर्नु संसदीय मर्यादा, नियमावली र लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएका छन्। यस्तो कार्यले सार्वभौम संसद्को विशेषाधिकारमाथि हस्तक्षेप गरेको उनको आरोप छ।
केसीले राजनीतिक दबाबमा विधेयक दर्ता गर्नु संस्थागत कमजोरीको संकेत भएको उल्लेख गर्दै यसलाई संसदीय लोकतन्त्रको अवमूल्यन र बहुमतको अहंकारको उदाहरण भनेका छन्। बजेटजस्तो संवेदनशील विषयमा नियम मिचेर परिवर्तन गर्न दिइए संसद्को औचित्यमाथि नै प्रश्न उठ्ने उनको भनाइ छ।
सरकारसँग बहुमत रहेकाले गल्ती स्वीकार गरी विधेयकलाई औपचारिक संशोधनसहित पुनः संसदमा पेश गर्नु उचित हुने सुझाव दिँदै उनले अन्यथा संविधान, संसदीय प्रणाली र लोकतान्त्रिक अभ्यास कमजोर बन्ने चेतावनी दिएका छन्।











प्रतिक्रिया