पोखरामा दिउँसै चोरी गर्दै गरेका एक जना पक्राउ


काठमाडौं । 

कास्कीको पोखरा महानगरपालिका–२६ माझको डाँडामा घरमा चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का ३६ वर्षीय राजन तामाङलाई स्थानीयको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।

गत शुक्रबार बिहान करिब ११:३० बजे स्थानीय धनबहादुर खड्काको घरमा कोही नभएको मौका पारेर तामाङले घरको मूल ढोका, कोठाका ताल्चा तथा दराज तोडफोड गरी धनमाल चोरी गरिरहेका थिए। स्थानीयले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले भाग्ने प्रयास गरिरहेका तामाङलाई ताल्चा फोड्न प्रयोग हुने फलामे औजारसहित पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार तामाङविरुद्ध चोरी तथा डाँका उद्योग सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।