बनेपा ।
कैलालीको टिकापुरकी उर्मिला विश्वकर्मा जन्मिँदै दुवै खुट्टा बाङ्गो लिएर संसारमा आइन् । बाल्यकालदेखि नै उनले हिँडडुलमा कठिनाइ भोग्दै आइरहेकी थिइन् । परिवारलाई पनि लामो समयसम्म यस्तो अवस्थाको उपचार सम्भव हुन्छ भन्ने जानकारी थिएन । जब अभिभावकले उपचार सम्भव भएको थाहा पाए, उनीहरू उर्मिलालाई बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमा लिएर आए ।

तर अस्पताल आउँदै गर्दा उर्मिलाको मनमा एउटा ठूलो चिन्ता थियो—उपचार गर्ने कि पढाइलाई निरन्तरता दिने ? उपचारका लागि केही महिना अस्पतालमै बस्नुपर्ने चिकित्सकको सुझावपछि उनी झन् चिन्तित भइन् । विद्यालय छुट्ने हो कि भन्ने पीडाले उनलाई सताइरहेको थियो । तर त्यो चिन्ता धेरै दिन टिकेन। अस्पतालले सञ्चालन गरेको विद्यालयले उनको जीवनमा नयाँ आशा जगायो । अहिले उर्मिला उपचार पनि गरिरहेकी छन् र नियमित रूपमा पढाइ पनि । उनका हातमा किताब छन्, खुट्टामा सहयोगी सामग्री छन् र आँखामा भविष्यका सपना ।



उर्मिलाजस्तै ३० भन्दा बढी बालबालिका अहिले अस्पतालभित्र सञ्चालित विद्यालयमा अध्ययन गरिरहेका छन् । नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि यहाँ पढाइको व्यवस्था गरिएको छ । तीन जना शिक्षकले मल्टिग्रेड शिक्षण विधिमार्फत नियमित कक्षा सञ्चालन गरिरहेका छन् । विद्यार्थीको आवश्यकता र उपचार अवधिअनुसार पढाइको व्यवस्था मिलाइएको छ । कोही एक हप्ता अस्पताल बस्छन्, कोही एक महिना, त कोही नौ महिनासम्म उपचारका क्रममा यही विद्यालयमा अध्ययन गर्छन् । कतिपय विद्यार्थीले आफ्नै विद्यालयसँग समन्वय गरी यहीँबाट वार्षिक परीक्षा समेत दिएका छन् ।

विद्यालयकी शिक्षिका नारायणी अधिकारीका अनुसार अस्पतालको उद्देश्य उपचार मात्र उपलब्ध गराउनु होइन, उपचारका कारण बालबालिकाको शिक्षा अवरुद्ध हुन नदिनु पनि हो । ‘उपचारका लागि आएका बालबालिकाको पढ्ने बानी नछुटोस्, उनीहरू विद्यालय जाने अवसरबाट वञ्चित नहून् भन्ने सोचका साथ विद्यालय सञ्चालन गरिएको हो’–उनले भनिन् –‘यहाँ उपचार र शिक्षालाई सँगसँगै अगाडि बढाइएको छ ।’
सन् २०१४ मा अस्पतालका संस्थापक डा. अशोककुमार बास्कोटा, डा. विवेक बास्कोटा लगायतको टोलीले उपचारसँगै शिक्षालाई पनि प्राथमिकता दिनुपर्ने अवधारणाका साथ विद्यालय स्थापना गरेका थिए । अपाङ्गतामैत्री कक्षाकोठा, आवश्यक शैक्षिक सामग्री र विशेष शिक्षण विधिका माध्यमबाट बालबालिकालाई सहज वातावरणमा पढाइ भइरहेको छ । अस्पतालका अनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बालबालिकाले उपचारसँगै शिक्षाको अवसर प्राप्त गर्दै आएका छन् । भूकम्प, कोरोना महामारी तथा अन्य विपत्तिका समयमा समेत विद्यालय सञ्चालनलाई निरन्तरता दिइएको थियो ।
उदयपुरको कटारीकी रजिना श्रेष्ठ अस्पतालको यो प्रयासबाट निकै प्रभावित छिन् । उनी भन्छिन् – ‘यदि यहाँ विद्यालय नभएको भए मेरो पढाइ धेरै पछाडि पथ्र्यो। कि अर्को वर्ष दोहोर्याएर पढ्नुपथ्र्यो, कि छुटेका पाठ सम्हाल्न धेरै संघर्ष गर्नुपथ्र्यो। अस्पतालले उपचारसँगै पढाइको अवसर दिएकोमा निकै खुसी छु ।’ पछिल्लो १३ वर्षमा यस विद्यालयबाट ९ हजार ३ सय ९० बालबालिकाले शिक्षा प्राप्त गरिसकेका छन् । तीमध्ये ४ हजार १ सय ५० छात्रा र ५ हजार २ सय ४० छात्र रहेका छन् ।
विद्यालयमा दृष्टिविहीन बालक कविराज नेपालीजस्ता विद्यार्थी पनि अध्ययनरत छन् । साना कक्षाका बालबालिकाका लागि चित्रकला, सङ्गीतमूलक सिकाइ तथा विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गरिन्छ । अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । शिक्षक मानबहादुर राईका अनुसार बालबालिकालाई सहज रूपमा सिक्न सक्ने वातावरण निर्माण गरिएको छ । विद्यालयमा वादविवाद, निबन्ध लेखन, हाजिरीजवाफ र अन्य शैक्षिक प्रतियोगितासमेत सञ्चालन गरिन्छ ।
विद्यालयले विद्यार्थी अध्ययनरत विद्यालयका शिक्षकहरूसँग नियमित समन्वय गरेर पाठ्यक्रम र पाठ्यपुस्तकअनुसार अध्यापन गरिरहेको छ । बिहान १० बजेदेखि सुरु हुने कक्षा दिउँसो ४ बजेसम्म सञ्चालन हुन्छ । बीचमा खाजा, खाना, थेरापी, ड्रेसिङ र अन्य उपचारका कार्यक्रम पनि समायोजन गरिएका हुन्छन् । उपचार पाएर बालबालिका खुसी त छन् नै, तर त्योभन्दा बढी खुसी उनीहरू पढाइ नछुटेकोमा छन् । अभिभावकहरू पनि आफ्ना छोराछोरीले उपचारसँगै शिक्षा पाएकोमा अस्पतालप्रति कृतज्ञ छन् ।
धेरै अस्पतालहरू उपचारमा मात्र सीमित छन्, बनेपाको यो अस्पतालले एउटा सन्देश दिएको छ, बालबालिकाको स्वास्थ्य र शिक्षा दुवै अधिकार हुन्, र दुवैलाई सँगसँगै सुनिश्चित गर्न सकिन्छ । अस्पतालको बेडमा रहेका विरामीहरुका लागि पनि त्यहि पुगेर पढ्न र लेख्न सिकाउने गरिएको शिक्षिका नारायणी अधिकारीले बताईन् । कक्षा कोठामा सहयोगी सामाग्री मार्फत उपस्थित हुन नसक्ने बालबालिकाहरुलाई उनिहरु उपचारार्थ बेडमा नै पुगेर समेत पढाउने गरिएको छ ।











प्रतिक्रिया