खोटाङ ।
दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ । नेपाल सरकारले जेठ–१५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो ।

खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउनेगरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमा समावेश गर्नुभएको छ । आयोजना सञ्चालनका लागि यसै आर्थिक वर्ष ठेक्का आव्हान गरेर आयोजनाको काम अगाडि बढाउने अर्थमन्त्री डाक्टर वाग्लेले बजेट भाषणमार्फत जानकारी दिनुभएको छ ।
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने रभुँवाघाटबाट उत्पादन गरिने बहुउद्देश्यीय जलविद्युत आयोजनाका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुन रहनुहुँदा नेपाल सरकार र लगानीकर्ताबीच सहमति जुटाइएको थियो । करिब ४३ वर्षअघि अध्ययन गरेर उत्पादनको काम सुरु गरिएको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा एसियाली विकास बैङ्क (एडिबि) लगायतका वित्तीय संस्थाहरुले लगानी गर्ने जनाएको छ ।
उक्त जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सरकारी तथा व्यक्तिका गरी करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ । जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनका लागि सरकारी जग्गा बाहेक व्यक्तिको नाममा रहेको करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान गरिएको विद्युत प्राधिकरणले जनाएको छ ।
बजेट अभावका कारण व्यक्तिको नाममा रहेको जग्गाको मुआब्जा लामो समयसम्म निर्धारण नहुँदा जलविद्युत आयोजनाबारे चिन्ता बढ्दै गएको थियो । मुआब्जा निर्धारण नभए पनि जलविद्युत आयोजनाबाट प्रभावित हुने जग्गाको किनबेचमा भने, नेपाल सरकारले रोक लगाएको छ ।
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा बजेट समावेश भएपछि जिल्लावासी हर्षित भएका छन् । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।
आयोजनाका लागि खोटाङतर्फको जग्गा २०७८ असार–२३ गतेदेखि रोक्का छ भने, ओखलढुङ्गातर्फको जग्गा अधिग्रहणका लागि २०७८ फागुन–२३ गते सूचना निकालिएको थियो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनका क्रममा १ सय ६२ घरपरिवार पूर्णरुपमा विस्थापित हुने र ९ सय ८८ परिवार आंशिक प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको छ । बहुवर्षे आयोजनाका रुपमा अगाडि बढाइएको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले एक हजार ५० घर परिवारको खेतीयोग्य जमिन डुबानमा पर्नेछ ।
रभुँवाघाटमा २ सय २० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा पानी खसाएर जलविद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको छ । जलविद्युत आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट बिजुली उत्पादन हुने विद्युत प्राधिकरणले जनाएको छ ।
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै जलाशयमा डुङ्गा सयर, माछा पालन तथा तीन जिल्लाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया