शीतल निवास वरपर ५ सय मिटर क्षेत्रमा अग्ला भवन निर्माणमा रोक

राष्ट्रपति कार्यालयको सहमति अनिवार्य

564
Shares

–निर्माण, किनबेच र नक्सापासका लागि राष्ट्रपति कार्यालयको सहमति अनिवार्य
–शीतल निवास नजिक निर्माणाधीन साढे २ तले घर सुरक्षा कारण देखाउँदै रोकियो
–अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि–२०८१ कार्यान्वयन गर्न महानगरलाई निर्देशन

काठमाडौं ।

राष्ट्रपति कार्यालय शीतल निवास वरपरको ५ सय मिटर (आधा किलोमिटर) क्षेत्रभित्र अग्ला भवन निर्माणमा प्रतिबन्ध लगाइएको खुलासा भएको छ । शीतल निवासको पश्चिमतर्फ साढे ३ आना जग्गामा निर्माणाधीन साढे २ तले घरमा रोक लगाएपछि उक्त व्यवस्था सार्वजनिक भएको हो ।
राष्ट्रपति कार्यालयअन्तर्गतको सुरक्षा तथा समारोह व्यवस्था कार्यालयले राष्ट्रपति निवास वरपर अग्ला संरचना निर्माण नगर्न आग्रह गर्दै निर्माण रोक्न पहल गरेको जनाएको छ ।

समारोह व्यवस्था कार्यालय नेपाली सेनाको नेतृत्वमा सञ्चालन हुने निकाय हो । काठमाडौं महानगरपालिका–३ मा गीताञ्जली राज्यलक्ष्मी राणा गुरुङले निर्माण गरिरहेको घरको उचाइ सुरक्षा दृष्टिले संवेदनशील भएको भन्दै राष्ट्रपति कार्यालयले निर्माण प्रक्रिया रोक्न आग्रह गरेको स्रोतले जनाएको छ । यसबारे काठमाडौं महानगरपालिका–३ वडा कार्यालयलाई समेत जानकारी गराइसकिएको छ । महानगरले राष्ट्रपति कार्यालय र घरधनीबीच छलफल गराउने तयारी गरेको छ ।

सरकारले लागू गरेको ‘अति विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ का आधारमा राष्ट्रपति कार्यालय वरपर अग्ला भवन निर्माणमा रोक लगाइएको हो । दुई वर्षअघि नै लागू भएको उक्त कार्यविधि हाल आएर कार्यान्वयनमा आएको देखिएको छ । तत्कालीन मुख्य सचिव एकनारायण अर्यालले हस्ताक्षर गरेको कार्यविधि गोप्य रूपमा लागू गरिएको थियो ।

कार्यविधिको परिच्छेद–३ को दफा २ अनुसार अति विशिष्ट व्यक्तिको निवास वा कार्यालय वरपरको ५ सय मिटर क्षेत्रभित्र कुनै संरचना निर्माण गर्न, जग्गा वा घर खरिद–बिक्री गर्न तथा नक्सापास गर्न सम्बन्धित अति विशिष्ट व्यक्तिको कार्यालयको सहमति अनिवार्य हुने व्यवस्था गरिएको छ । त्यस्तै, सुरक्षा निकायले उक्त क्षेत्रभित्र रहेका सबै संरचना र भौगोलिक अवस्थाको स्पष्ट विवरणसहितको नक्सा तयार गरी अद्यावधिक राख्नुपर्ने उल्लेख गरिएको छ । यही प्रावधानका आधारमा शीतलनिवासको पश्चिमतर्फ निर्माणाधीन घरमा रोक लगाइएको बताइएको छ ।

काठमाडौं महानगरपालिकाले भने कार्यविधिबारे आफूहरूलाई औपचारिक जानकारी नदिइएको जनाएको छ । यद्यपि, कार्यविधि कार्यान्वयनमा आइसकेकाले अबदेखि राष्ट्रपति कार्यालयको ५ सय मिटर परिधिभित्र अग्ला संरचना निर्माण गर्न नपाइने अवस्था सिर्जना भएको छ । यसअघि निर्माण भइसकेका भवनमा भने यो व्यवस्था लागू नहुने बताइएको छ ।

स्रोतका अनुसार निर्माणाधीन साढे २ तले भवनबाट राष्ट्रपति निवासभित्रका गतिविधि सहज रूपमा अवलोकन गर्न सकिने अवस्था देखिएकाले सुरक्षामा प्रत्यक्ष असर पर्न सक्ने निष्कर्ष निकालिएको थियो । त्यसैका आधारमा अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार निर्माण प्रक्रिया पुनरावलोकन गर्न आग्रह गरिएको हो ।

राष्ट्रपति कार्यालयको पत्रपछि गीताञ्जली राज्यलक्ष्मी राणा गुरुङको घर निर्माणको भविष्य अन्योलमा परेको छ । भवनको उचाइ कति कायम गर्ने भन्ने विषयमा स्थानीय तह, घरधनी र राष्ट्रपति कार्यालयबीच थप छलफल हुने तयारी भइरहेको छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गर्दै आफ्नो निर्देशन कार्यान्वयन गराउन आग्रह गरेको थियो ।

त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्र पठाई अति विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

कार्यविधिमा अति विशिष्ट व्यक्तिको गरिमा, जिम्मेवारी र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी विशेष सुरक्षा उपकरण, आधुनिक हातहतियार तथा भरपर्दा सञ्चार माध्यममार्फत सुरक्षा व्यवस्था सुदृढ गरिने उल्लेख छ । सुरक्षा तथा समारोह व्यवस्था कार्यालयले राष्ट्रपतिलगायत अति विशिष्ट व्यक्तिहरूको निवास, कार्यालय, भ्रमण तथा समारोह स्थलको सुरक्षा व्यवस्थापन गर्दै आएको छ ।