बजेटअघि कोरला नाकाबाट भित्रिएका ७७५ विद्युतीय सवारी नियन्त्रणमा, राजस्व छली आशंकामा छानबिन सुरु


काठमाडौं ।

नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय ७५ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। कास्कीदेखि मुस्ताङसम्मका विभिन्न स्थानमा गरिएको विशेष जाँचका क्रममा बुधबार रातिदेखि बिहीबार बिहानसम्म ती सवारी नियन्त्रणमा लिइएको हो। गृह मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि नै विद्युतीय सवारीसाधनमा लाग्ने कर तथा भन्सार दर परिवर्तनसम्बन्धी सूचना बाहिरिएपछि ती सवारीसाधन हतारहतार नेपाल भित्र्याइएको आशंका गरिएको छ।

प्रारम्भिक जानकारीअनुसार बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै कोरला नाका हुँदै नेपाल भित्रिएका ती गाडी विभिन्न जिल्लातर्फ पठाउने तयारी भइरहेको अवस्थामा सुरक्षा निकायले निगरानी बढाएको थियो। सोही क्रममा ठूलो संख्यामा विद्युतीय सवारी नियन्त्रणमा लिइएको बताइएको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार करको दर बढ्ने वा परिवर्तन हुने सूचनाको दुरुपयोग गरी राज्यलाई ठूलो राजस्व नोक्सानी पुर्‍याउने उद्देश्यले सवारी आयात गरिएको हुनसक्ने आशंकामा अनुसन्धान थालिएको छ।

नियन्त्रणमा लिइएका सवारीसाधनको आयात प्रक्रिया, भन्सार कागजात, कर भुक्तानी अवस्था तथा संलग्न आयातकर्ता कम्पनीहरूको विवरण संकलन भइरहेको छ। सशस्त्र प्रहरी बल, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग तथा गृह मन्त्रालयबीच समन्वय गरेर घटनाबारे विस्तृत छानबिन अघि बढाइएको स्रोतले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा केही सवारीसाधन बजेट घोषणाअघि भन्सार प्रक्रिया पूरा गराउने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो संख्यामा भित्र्याइएको संकेत देखिएको अधिकारीहरूको भनाइ छ।

यस घटनाले बजेट निर्माण प्रक्रियाको गोपनीयता, संवेदनशील आर्थिक सूचनाको चुहावट तथा त्यसबाट हुन सक्ने राजस्व क्षतिबारे गम्भीर प्रश्न उठाएको छ। सरकारले सूचनाको स्रोत पहिचान गर्न र संलग्न व्यक्ति वा समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। यद्यपि, नियन्त्रणमा लिइएका सबै सवारीसाधन अवैध रूपमा भित्र्याइएका हुन् वा नियमित आयात प्रक्रियाअन्तर्गत आएका हुन् भन्ने विषयमा अन्तिम निष्कर्ष आइसकेको छैन। सम्बन्धित निकायहरूको अनुसन्धान प्रतिवेदनपछि मात्र वास्तविक अवस्था स्पष्ट हुने बताइएको छ।