खहरे खोलाको भेलमा बगेका दुई बालकको मृत्यु, गाउँ शोकमा

फाइल फोटो

रोल्पा।

रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर दुई बालकको निधन भएको छ।

बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा अचानक आएको खोलाको भेलमा बगेर स्थानीय निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसी बेपत्ता भएका थिए। स्थानीयवासी, प्रहरी तथा जनप्रतिनिधिको खोजी अभियानपछि दुवै बालकको शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार वर्षासँगै आएको तीव्र भेलाका कारण बालकहरू खोलो तर्ने क्रममा बगेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

दुई बालकको एकैसाथ ज्यान गएपछि रातामाटा गाउँ शोकमग्न बनेको छ। स्थानीयवासीले वर्षायाममा खोलानाला तथा जोखिमयुक्त क्षेत्र आसपास बालबालिकाको सुरक्षाप्रति विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

गंगादेव गाउँपालिकाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै वर्षाका कारण बढ्दो प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।