डिजिटल लतले धैर्यता घटाउँछ, पठन संस्कृतिले संयम बढाउँछ : दीपकराज जोशी


ललितपुर। 

शिक्षाविद् दीपकराज जोशीले डिटिजल लतले धैर्यता घटाउने बताउनुभएको छ ।

जेवि एजुकेशनको आयोजना तथा तथ्यपाटी डटकमको सहकार्यमा ललितपुरको झम्सिखेलमा सम्पन्न ‘विकासका लागि पठन संस्कृति’ विषयक चौथो संवाद श्रृंखलामा जोशीले पठन संस्कृतिमार्फत धैर्यता र संयमिमता बढाउन सकिने बताउनुभएको हो ।

ललितपुर महानगरपालिका वडा नं. ३ को समन्वयमा आयोजित उक्त कार्यक्रममा पठन संस्कृतिका विषयमा प्रस्तुतीकरण गर्नुहुँदै जोशीले डिजिटल प्रविधि र पठन संस्कृतिबीचको सम्बन्ध तथा यसले मानव व्यवहारमा पार्ने प्रभावका विषयमा गहन विचार व्यक्त गर्नुभएको हो ।

उहाँले मानिसमा मोबाइल हेर्ने तीव्र इच्छा र किताब पढ्न मन नलाग्नुको मुख्य कारण मस्तिष्कमा उत्पन्न हुने ‘डोपामाइन’ नामक हर्मोन रहेको स्पष्ट पार्नुभयो । डाक्टरहरूसँगको भेटघाट र चिकित्सकीय ज्ञानको सन्दर्भ दिँदै जोशीले डोपामाइन हर्मोनले मानिसलाई खुसी र बेखुसी दुवै बनाउन सक्ने बताउनुभयो ।


जोशीका अनुसार मोबाइलमा ३० सेकेन्डको रिल हेर्दा डोपामाइन हर्मोन तत्काल उत्पादन हुन्छ र उत्तिकै छिटो यसको प्रभाव सकिन्छ । छिटो उत्पन्न भएर छिटै सकिने यस हर्मोनको दीर्घकालीन सकारात्मक प्रभाव नहुने भएकाले मोबाइल प्रयोगकर्ताहरूमा धैर्यताको कमी, झर्किने र आक्रामक व्यवहार देखिने गरेको उहाँको तर्क छ । बालबालिकामा देखिने यस्ता नकारात्मक व्यवहारको पछाडि मोबाइलका छोटा भिडियोहरू र तिनले उत्पन्न गराउने हर्मोन नै मुख्य कारक रहेको उहाँले बताउनुभयो ।

यसैगरी जोशीले किताब पढ्ने प्रक्रियामा भने डोपामाइन हर्मोन उत्पादन हुन ३० मिनेटदेखि घण्टौंसम्म लाग्ने र यो सुस्त गतिमा लामो समयसम्म शरीरमा रहने भएकाले पठन संस्कृतिले मानिसलाई शान्त, संयमित र धैर्यवान् बनाउन मद्दत पुर्‍याउने उहाँले उल्लेख गर्नुभयो । हाम्रा परापूर्व कालदेखि चलेका महाभारत र रामायणजस्ता ग्रन्थहरू लय हालेर पढ्ने परम्परा घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै जोशीले घरमा बेलुकीको समयमा स्क्रिन टाइम घटाएर पठन संस्कृति बढाउनुपर्नेमा जोड दिनुभयो । बेलुका निश्चित समयपछि मोबाइल र टिभी बन्द गरी किताब पढ्ने वा आपसमा गफगाफ गर्ने पारिवारिक वातावरण बनाउन सके मात्र बालबालिका र युवाहरूमा अध्ययनको बानी पुनर्जाग्रत गराउन सकिने उहाँको भनाइ थियो ।

संवाद श्रृंखलामा बोल्नुहुँदै ललितपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जनले समाजमा पठन संस्कृति खस्कँदै जाँदा पारिवारिक संस्कार र सामाजिक चेतनामा गम्भीर संकट पैदा भएको बताउनुभयो । उहाँले ज्ञान आर्जन र व्यक्तित्व विकासका लागि अध्ययन अपरिहार्य भए पनि नयाँ पुस्तामा पुस्तक पढ्ने बानी हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

महर्जनका अनुसार विगतमा पुस्तकालयहरूमा मानिसको घुइँचो हुने गरे पनि अहिले वडाले उपलब्ध गराएका पुस्तकसमेत रहेको पुल्चोकको लाइब्रेरीसमेत सुनसान बन्ने गरेको छ । युवापुस्ताको आकर्षण पठन संस्कृतिभन्दा अनलाइन गेम र मोबाइलतर्फ बढेको भन्दै बालबालिकालाई सही संस्कार दिन घरपरिवारबाटै निगरानी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कोरोना महामारीमा अध्ययनका लागि प्रयोग गरिएको प्रविधिको अस्वाभाविक प्रयोग महामारी सकिदा उही अवस्थामा फर्कन नसकेको उहाँको दावी छ । महर्जनका अनुसार मानिसहरू सामान्य हिसाबकिताब र दैनिक कामका लागिसमेत अरूमै निर्भर हुन थालेको उहाँको भनाइ थियो। पुस्तकका केही पाना वा लाइन मात्र पढे पनि त्यसले जीवनोपयोगी ज्ञान दिने उल्लेख गर्नुहुँदै उहाँले आफ्नो प्रशासनिक जीवनमा चाणक्य नीति जस्ता पुस्तकको अध्ययनले तनाव व्यवस्थापन र कार्यसम्पादनमा ठूलो सहयोग पुर्‍याएको अनुभव बाँड्नुभयो ।

तथ्यपाटी डटकममा अध्यक्ष विधान रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रमिक बाल विज्ञान आधारभूत विद्यालयका प्रधानाध्यापक परशुराम बराल, यशस्वी गुरुकुल विद्यालयका प्रिन्सिपल गोविन्द अधिकारी, स्थानीयवासीहरु राजु शाक्य र माधुरी पराजुली, नेपाल समाचारपत्रका सहसम्पादक ईश्वरराज ढकाल आदिले पठन संस्कृति विकासका लागि भनाइहरु राख्नुभएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. ३ का जनप्रतिनिधिहरुसहित स्थानीय टोल सुधार समिति, विभिन्न क्लव, समूह आदिको सहभागिता रहेको तथ्यपाटी डटकममा अध्यक्ष विधान रिजालले जानकारी दिनुभयो ।