काठमाडौं।
शेल कम्पनी (कृत्रिम व्यवसाय) स्थापना गरी बैंकबाट लिएको कर्जाको दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार महोत्तरीको बर्दिवास नगरपालिका–६ मा दर्ता रहेको इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एण्ड भेटेरिनरी साइन्सेस प्रालि नामक शेल कम्पनी खडा गरी प्रभु बैंक लिमिटेडबाट विभिन्न शीर्षकमा कर्जा लिइएको थियो। उक्त कर्जा स्वीकृत प्रयोजनभन्दा बाहिर प्रयोग गरिएको तथा पटक–पटक कर्जाको दुरुपयोग गरिएको आरोप पाण्डेमाथि लागेको छ।
अनुसन्धानका क्रममा कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै कर्जा लिएको, धितो सम्पत्तिको अस्वाभाविक रूपमा उच्च मूल्यांकन गराई बैंकलाई भ्रममा पारेको तथा कर्जाको रकम अन्यत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ।
बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका–९ रातोपुल निवासी पाण्डेविरुद्ध उच्च अदालत पाटनले २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो।
सोही आधारमा सीआईबीको टोलीले उनलाई शुक्रबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ गरेको हो। पाण्डे राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष हुनुका साथै उक्त कम्पनीका एकल सञ्चालक समेत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ। अनुसन्धानबाट कर्जा स्वीकृति प्रक्रिया, धितो मूल्यांकन तथा रकम प्रयोगसम्बन्धी थप विवरण खुल्ने अपेक्षा गरिएको छ।
बैंकिङ क्षेत्रको विश्वासमाथि प्रत्यक्ष असर पार्ने प्रकृतिको यस घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहे–नरहेको विषयमा अनुसन्धान केन्द्रित रहेको सीआईबीले जनाएको छ।











प्रतिक्रिया