रुपन्देही ।
लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार एमालेका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीले लिखित रूपमा राजीनामा बुझाएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, वन तथा वातावरणमन्त्री दिनेश पन्थी, आन्तरिक मामिला तथा कानुनमन्त्री खेम सारु मगर तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री सीता शर्मा चौधरी रहेका छन्। एमाले मन्त्रीहरूको सामूहिक राजीनामासँगै लुम्बिनी प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ।
राजीनामाको कारणबारे औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन। यद्यपि पछिल्लो समय प्रदेश सरकारभित्र देखिएको राजनीतिक असन्तुष्टि र केन्द्रको बदलिँदो सत्ता समीकरणसँग यस घटनालाई जोडेर हेरिएको छ। राजीनामा पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता भइसकेको स्रोतले जनाएको छ।
मन्त्रीहरूको राजीनामापछि प्रदेश सरकारको आगामी रणनीति, मन्त्रिपरिषद् पुनर्गठन तथा नयाँ सत्ता समीकरणबारे चासो बढेको छ। यस विषयमा मुख्यमन्त्री कार्यालय तथा एमाले प्रदेश नेतृत्वबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ। राजनीतिक वृत्तमा भने एमाले सरकारबाट बाहिरिने निर्णयले लुम्बिनी प्रदेशको सत्ता समीकरणमा महत्वपूर्ण परिवर्तन ल्याउने चर्चा सुरु भएको छ।











प्रतिक्रिया