कमला पुल निर्माणमा ढिलाइ, स्थानीय आक्रोशित


काठमाडौं ।

सिरहा–धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल निर्माण करिब १५ वर्षदेखि अधुरै रहँदा स्थानीयवासी आक्रोशित बनेका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटमा पुलका लागि स्पष्ट बजेट विनियोजन नभएपछि निराशा झन् बढेको हो।

२०६८ सालमा २४ करोड ९० लाख रुपैयाँ लागतमा ठेक्का लागेको ४६९.२ मिटर लामो पुल निर्माण कम्पनीको ढिलासुस्ती, प्रशासनिक जटिलता र बाढीजन्य क्षतिका कारण पूरा हुन सकेको छैन। पुल सञ्चालनमा नआउँदा सिरहा र धनुषाबीचको यात्रा समय बढेको छ भने वर्षायाममा आवतजावत थप जोखिमपूर्ण बनेको छ।

स्थानीयले पटक–पटक सरकार र जनप्रतिनिधिलाई ध्यानाकर्षण गराए पनि काम अघि नबढेको गुनासो गरेका छन्। पुल निर्माणलाई बजेटमा समेट्न माग गर्दै स्थानीयले आन्दोलनसमेत सुरु गरेका छन्।