नौ स्वास्थ्य संस्थाका रिक्त पदमा आवेदन आह्वान, १० दिनभित्र दरखास्त दिन आग्रह


काठमाडौं ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न नौ स्वास्थ्य संस्थामा रिक्त रहेका पदाधिकारी तथा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित संस्थाका अध्यक्ष, सदस्य, उपाध्यक्ष, कार्यकारी निर्देशक तथा रजिष्ट्रारलगायत पदमा योग्य व्यक्तिबाट दरखास्त माग गरेको हो।

मन्त्रालयका अनुसार स्वास्थ्य बीमा बोर्ड, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका विभिन्न पदमा नियुक्तिका लागि आवेदन खुला गरिएको छ। सूचनाअनुसार स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष, कार्यकारी निर्देशक तथा सदस्य पदका लागि आवेदन मागिएको छ।

त्यस्तै नेपाल आयुर्वेद चिकित्सा परिषद्काग अध्यक्ष, सदस्य र रजिष्ट्रार तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा अध्यक्ष, सदस्य र रजिष्ट्रार पद रिक्त रहेकाले आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ। नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा रजिष्ट्रार पदका लागि आवेदन माग गरिएको छ भने नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष र रजिष्ट्रार पदमा नियुक्तिका लागि योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरिएको छ। त्यसैगरी नेपाल फार्मेसी परिषद्का अध्यक्ष, सदस्य र रजिष्ट्रार पदका लागि पनि आवेदन खुला गरिएको छ। नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष, सदस्य र रजिष्ट्रार पदका लागि आवेदन मागिएको छ।

यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सदस्य तथा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक र सदस्य पदका लागि पनि आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले सम्बन्धित स्वास्थ्य संस्थाका पदाधिकारी नियुक्ति सम्बन्धी व्यवस्था सम्बन्धित संस्थाको ऐन तथा नियमावलीअनुसार हुने जनाएको छ। इच्छुक तथा योग्य उम्मेदवारले आवश्यक योग्यता, अनुभव र अन्य मापदण्ड पूरा गरी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

सूचनाअनुसार आवेदन दिन चाहने व्यक्तिले सम्बन्धित संस्थाको प्रचलित ऐन तथा नियमावलीमा उल्लेख गरिएका योग्यता र मापदण्डको आधारमा आवश्यक कागजातसहित मन्त्रालयमा दरखास्त बुझाउनुपर्नेछ। आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले १० दिनभित्र तोकिएको छ। मन्त्रालयले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक निकाय, अनुसन्धान परिषद् तथा विशिष्टीकृत अस्पतालहरूमा नेतृत्व र पदाधिकारी चयन प्रक्रिया अघि बढाइएको जनाएको छ।

यसबाट स्वास्थ्य सेवा व्यवस्थापन, नियमन, अनुसन्धान तथा स्वास्थ्य व्यवसायसँग सम्बन्धित संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ। इच्छुक उम्मेदवारलाई समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न मन्त्रालयले आग्रह गरेको छ।