काठमाडौं ।
बीवाईडी ब्रान्डका विद्युतीय गाडी आयातसँग जोडिएको कर छली प्रकरणमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित ६ कर्मचारीलाई भन्सार विभागले फिर्ता बोलाएको छ । भन्सार विभाग उच्च स्रोतका अनुसार भट्टराईसहित अधिकृत ठाकुर गौतम, भन्सार अधिकृत खड्गबहादुर माझी, कम्प्युटर अधिकृतद्वय सबिना अधिकारी र प्रकाश पुडासैनी तथा नायब सुब्बा तेजबहादुर बललाई विभागमा तानेर अनुसन्धान अघि बढाएको हो ।
उनीहरूमाथि बीवाईडीका विद्युतीय गाडीको कर छली योजनामा सहयोग गरेको आरोप लागेको छ । भट्टराईसहितको टोलीलाई फिर्ता बोलाएपछि अर्थ मन्त्रालयले उपसचिव राजेन्द्र ढुंगानालाई रसुवा भन्सार कार्यालयको प्रमुखमा जिम्मेवारी दिएको छ । ढंगाना पनि विवादस्पद छविका कर्मचारी हुन । उनी अख्तियार दुुरुपयोग अनुसन्धान आयोगबाट अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा छानविनमा परेका थिए ।
अनुसन्धानका क्रममा गत १५ जेठमा बजेट सार्वजनिक हुनुअघि भन्सार ¥याडमा गाडी आइनपुग्दै रसुवा भन्सारबाट झण्डै २०० वटा विद्युतीय गाडीको प्रज्ञापनपत्र तयार गरी भन्सार जाँच पास गरी कर तिरिएको खुलासा भएपछि विभागले उपसचिव सुरेन्द्र पाण्डे र शाखा अधिकृत गोविन्द अधिकारीको नेतृत्वमा छानबिन टोली रसुवा पठाएको थियो । टोलीले प्रज्ञापनपत्र, कार्यालय अभिलेख तथा सीसीटीभी फुटेज अध्ययन गर्दा गाडीहरू भन्सार नाकामा भौतिक रूपमा नआइपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको तथ्य फेला परेको स्रोतले जनाएको छ ।
बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले कर्मचारीलाई प्रलोभनमा पारेर कर छली गरेको प्राम्भिक अनुसन्धानमा देखिएको स्रोतले जानकारी दियो । भन्सारसम्बन्धी विद्यमान व्यवस्थाअनुसार मालवस्तु नाकामा पुगेपछि मात्र निरीक्षण र जाँचपास प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर गाडी नै नआइपुग्दै प्रज्ञापनपत्र तयार गरी कर तिर्ने र जाँचपास सम्पन्न गर्ने कार्यले भन्सार प्रशासनभित्रको भूमिकामाथि प्रश्न उठाएको छ । बजेटमार्फत कर दर परिवर्तन हुनुअघि ठूलो संख्यामा गाडी जाँचपास गरिनुले पनि थप शंका उत्पन्न गरेको छ ।
बजेटले विद्युतीय गाडीमा लाग्दै आएको करका दरमा हेरफेर हुने सुइँको पाएपछि साइमेक्स इंक प्रालिले विगतमा जस्तै यसपटक पनि कर्मचारीसँग सेटिङ मिलाएर गाडी आयात गर्ने प्रयास गरेको देखिन्छ । तर, साइमेक्स इंक प्रालिको धन्दा यसपटक छिट्टै रहस्योद्घाटन भएपछि भन्सार कार्यालयका कर्मचारी मात्रै फसेका छन् ।
साइमेक्स इंक प्रालिले करका दरको सुइँको दिने अर्थ मन्त्रालय र राजस्वका कर्मचारीहरु पनि छानविनको दायरामा आउनुपर्ने माग कर्मचारी वृत्तबाट उठ्न थालेको छ । यस प्रकरणसँगै बीवाईडीका केही मोडेलको मोटर क्षमतासम्बन्धी विवाद पनि पुनः चर्चामा आएको छ ।
यसअघि उच्च क्षमताका विद्युतीय गाडीलाई कम क्षमताको देखाएर भन्सार तथा अन्तःशुल्क कम तिरेर कर छली गरेको आरोप सार्वजनिक भएको थियो । साइमेक्स इंक प्रालिमाथि यसअघि पनि न्यून बिजकीकरण गरी कर छली गरेको आरोप लागेको थियो। एउटै कम्पनीसँग सम्बन्धित यस्ता विवादहरू पटक–पटक दोहोरिनुले नियामकीय निगरानीको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ ।











प्रतिक्रिया