काठमाडौं ।
मध्यपूर्वको संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ होर्मुजमा अमेरिकी नौसैनिक नाकाबन्दी थप आक्रामक बन्दै गएको छ। अमेरिकी सेनाले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुतर्फ जाँदै गरेको बोत्सवानाको झण्डावाहक खाली तेल ट्यांकर एम/टी लेक्सी (M/T Lexie) माथि हेलफायर मिसाइल प्रहार गरी सञ्चालन अक्षम बनाएको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (CENTCOM) का अनुसार अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै खार्ग टापुतर्फ अघि बढिरहेको उक्त जहाजलाई २४ घण्टासम्म पटक–पटक चेतावनी दिइएको थियो।
तर चालक दलले अमेरिकी निर्देशन पालना नगरेपछि अमेरिकी युद्धविमानले जहाजको इन्जिन कक्षलाई लक्षित गर्दै हेलफायर मिसाइल प्रहार गरेको हो। आक्रमणपछि जहाजको सञ्चालन प्रणाली पूर्ण रूपमा ठप्प भएको सेन्टकमले जनाएको छ। हालसम्म कुनै मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको छैन। अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने वा त्यहाँबाट बाहिरिने जहाजहरूमाथि कडा नाकाबन्दी लागू गरेको छ।
सेन्टकमका अनुसार नाकाबन्दी सुरु भएयता इरानतर्फ जान खोज्ने ६ वटा व्यावसायिक जहाजलाई सैन्य कारबाहीमार्फत सञ्चालन अक्षम बनाइएको छ भने १२२ वटा जहाजलाई मार्ग परिवर्तन गर्न बाध्य पारिएको छ। यो घटना अमेरिकाले गत साता अर्को व्यापारिक जहाजमाथि पनि यस्तै प्रकारको हेलफायर मिसाइल प्रहार गरेको केही दिनमै भएको हो। पछिल्ला घटनाले अमेरिकाले इरानविरुद्धको समुद्री नाकाबन्दीमा सैन्य शक्ति प्रयोगलाई थप बढाएको संकेत गरेका छन्।
घटनाप्रति इरान सरकार वा त्यहाँको Islamic Revolutionary Guard Corps (IRGC) ले औपचारिक प्रतिक्रिया जनाएको छैन। तर क्षेत्रीय सुरक्षा विश्लेषकहरूले होर्मुज क्षेत्रमा भइरहेको सैन्य गतिविधिले अमेरिका–इरान तनावलाई पुनः युद्धको दिशातर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्। विश्वको करिब एक-पाँचौं तेल आपूर्ति यही समुद्री मार्गबाट हुने भएकाले होर्मुजमा देखिएको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप दबाब सिर्जना गर्ने सम्भावना बढेको छ।
हाल पनि जहाज आवागमन उल्लेखनीय रूपमा घटेको र बीमा लागत तथा ढुवानी जोखिम उच्च स्तरमा पुगेको विभिन्न अन्तर्राष्ट्रिय निगरानी संस्थाहरूले जनाएका छन्। कूटनीतिक वार्ता पुनः सुरु गर्ने प्रयास भइरहेका बेला भएको यो सैन्य कारबाहीले मध्यपूर्वमा तनाव थप चर्काउने र विश्वव्यापी तेल बजारलाई पुनः अस्थिर बनाउने चिन्ता बढाएको छ।











प्रतिक्रिया