निर्देशक समाजको अध्यक्षमा अरुणकुमार महा सचिवमा समुन्द्र तुलसी घिमिरेलाई दीर्घ साधना सम्मान


नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन्।समाजको मंगलवार राजधानीमा सम्पन्न १८ औं साधारणसभा तथा चुनावमा कार्यसमितिका सम्पूर्ण सदस्यका साथमा कोषाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। कुल १ सय ५९ मत खसेकामा प्रधानले प्रतिस्पर्धी तथा समाजको यसअघिका अध्यक्ष जनकदीप पराजुलीलाई ६३ मतले हराए। त्यस्तै उपाध्यक्ष पदमा सुभाष गजुरेल ९५ र दीपक वली ७१ मत सहित निर्वाचित भएका छन्। सो पदका अन्य दाबेदार देवेन्द्र पाण्डेले ५७, ऋषिराज आचार्यले ३२ र राज बस्न्यातले २२ मत प्राप्त गरेका थिए। त्यस्तै महासचिवमा समुन्द्र भट्ट १ सय ६ मतसहित विजयी हु“दा अर्का प्रतिस्पर्धी कमल एक्चा मगरले ४७ प्राप्त गरेका थिए।

त्यस्तै सचिवमा राजबहादुर साने ८० मतसहित विजयी हुदा अमर ओलीले ४६ र दिनेश लिङ्देनले २८ मत प्राप्त गरेका थिए। कोषाध्यक्ष पदमा जनक खड्का निर्विरोध निर्वाचित भएका छन्। सह–कोषाध्यक्ष पदमा उत्सव केसी ६७ मतसहित विजयी भएका छन् भने सोही पदका प्रतिस्पर्धी अमृतमान महर्जनले ४४ र भीषण राईले ४२ मत प्राप्त गरेका थिए। लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा क“डेल र हस्तबहादुर लिम्बू सदस्य पदमा निर्विरोध रूपमा निर्वाचित भएका छन्।

सोही अवसरमा स्रष्टा सर्जक अभिनन्दन कार्यक्रम गर्दै निर्देशक तुलसी घिमिरेलाई नगद ५१ हजार रुपिया“सहित दीर्घ साधना सम्मान २०८२ बाट सम्मानित गरिएको छ। कार्यक्रममा निर्देशक किरण प्रधानलाई हीरासिंह खत्री स्मृित सम्मान २०८२ प्रदान गरिएको थियो। समारोहमा फिल्म पूर्णबहादुरको सारंगीका लागि सरोज पौडेललाई व्यावसायिक फिल्म २०८१ सम्मान र फिल्म अञ्जिलाका लागि मिलन चाम्सलाई वर्ष निर्देशक कलात्मक अवार्ड २०८१ प्रदान गरिएको थियो।

कार्यक्रममा निर्देशक दीपकप्रसाद आचार्यले वर्ष निर्देशक व्यवसाय २०८२ र निर्देशक समुन्द्र भट्टले नवनिर्देशक कलात्मक २०८२ अवार्ड प्राप्त गरेका छन्। आचार्यले फिल्म परान र भट्टले गुन्युचोलोका लागि सो अवार्ड प्राप्त गरेका हुन्। सोही अवसरमा अभिनेत्री तथा निर्देशक रेखा थापा, निर्देशक तीर्थ थापा र निर्देशक बद्री अधिकारीलाई स्रष्टा सर्जक सम्मान २०८२ प्रदान गरियो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र क्षेत्रको विकासका लागि व्यक्तिगत रिस राग र कुण्ठाभन्दा माथि उठेर काम गर्नुपर्ने बताए।