काठमाडौं ।
भारतको बेंगलुरुबाट दिल्लीका लागि उडेको Air India को एक उडानको इन्जिनमा आगलागी भएपछि विमानले दिल्ली विमानस्थलमा आपतकालीन तर सुरक्षित अवतरण गरेको छ । विमानमा सवार सबै १६० यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार साँझ अवतरणको अन्तिम चरणमा पुगेको बेला ककपिट चालक दलले इन्जिनमा आगलागी भएको संकेत पाएको थियो ।
पछि उक्त संकेत वास्तविक आगलागी भएको पुष्टि भएको एयर इन्डियाले विज्ञप्तिमार्फत जनाएको छ । चालक दलले तत्काल सुरक्षा प्रक्रिया अपनाउँदै विमानलाई सुरक्षित रूपमा दिल्ली विमानस्थलमा अवतरण गराएको थियो । अवतरणपछि यात्रुहरूलाई सामान्य प्रक्रियाअनुसार सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको एयर इन्डियाले जनाएको छ ।
घटनापछि विमानस्थलमा केही समय उच्च सतर्कता अपनाइएको थियो । प्रारम्भिक जानकारीअनुसार आगलागी इन्जिनको प्राविधिक समस्याका कारण भएको आशंका गरिएको छ । एयर इन्डियाले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ । विमानलाई प्राविधिक परीक्षणका लागि अलग राखिएको छ भने उडान सुरक्षासम्बन्धी निकायहरूले पनि घटनाको छानबिन थालेका छन् ।











प्रतिक्रिया