डडेल्धुरा ।
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा भइरहेका असल अभ्यासहरु, सिकाइ तथा अनुभव आदानप्रदान अन्तरक्रिया बुधबारदेखि डडेल्धुरा सदरमुकाममा शुरु भएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना, डोटीको आयोजना तथा नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघको समन्वयमा स्थानीय तहमा भइरहेका असल अभ्यासहरु, सिकाइ तथा अनुभवका बारेमा प्रचारप्रसार गर्ने उद्देश्यले दुईदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ज्ञानेन्द्र बमले स्थानीय सरकार देखिने, अनुभूति गर्न सकिनेभन्दा पनि भेटिने सरकार भएकाले स्थानीय तहबाट हालसम्म सम्पादन भएका अनुकरणीय तथा उपलब्धिमूलक कार्यहरु र असल अभ्यासहरुको अनुभव आदानप्रदान गरेर अगामी काम–कारबाहीलाई अझ बढी फलदायी बनाउने अनि व्याप्त जनवितृष्णाका साथै निराशा न्यूनीकरण गर्दै आशा जगाउन असल अभ्यासहरुको प्रचारप्रसार गरिनु जरुरी रहेको बताउनुभयो ।
पहिलो चरणमा प्रदेशका २४ स्थानीय तहले हालसम्म भएका असल अभ्यासहरु, महत्वपूर्ण सिकाइ तथा अनुभवहरु प्रस्तुत गरिरहेका छन् । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय कोषाध्यक्ष तथा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले स्थानीय तहले थुपै्र अनुकरणीय र असल अभ्यासहरु गरिरहेको भए पनि असल कामको प्रचारप्रसार हुन नसक्दा आम नागरिकमा निराशा बढेको जिकिर गर्नुभयो ।
उहाँले आवश्यक तथ्य तथ्यांकसहित स्थानीय तहले सम्पादन गरेका उपलब्धिमूलक काम र आम नागरिकको जीवनस्तरमा आएका परिवर्तनका बारेमा प्रचारप्रसार हुन नसकेको दाबी गर्दै अगामी वर्ष स्थानीय तहको पाँचबर्से कार्यकालको प्रगति प्रतिवेदन तयार गर्ने वर्ष भएकाले हालसम्मका असल अभ्यास, सिकाइ र अनुभवहरुको दस्तावेज तयार गरेर प्रचारप्रसार गरिनुपर्ने औँल्याउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक राजेन्द्र प्याकुरेलले स्थानीय तहको कार्यसम्पादन र नागरिकस्तरमा सन्तुष्टिको विवरणसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । उहाँले स्थानीय तहले छोटो अवधिमा थुप्रै उपलब्धि हासिल गर्न सकेको भए पनि तथ्यांक संकलन तथा अद्यावधिक गर्ने काम हुन नसकेकाले भ्रामक सूचनाहरुले प्रश्रय पाउने गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुखहरु, २४ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरु, सूचना प्रविधि अधिकृत, सञ्चारकर्मी तथा विज्ञहरुको सहभागिता छ । दुई दिनसम्म कार्यक्रममा सहभागी सबै स्थानीय तहका असल अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गरिने र प्रचारप्रसार गरिनेछ । पहिलो चरणको कार्यक्रम सकिएलगत्तै दोस्रो चरणमा थप स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिने सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले स्थानीय तहको वास्तविक आवश्यकता पहिचान गरेर भइरहेको अन्तरक्रिया कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले कार्यक्रममा सहभागीहरुलाई डडेल्धुरामा स्वागत गर्दै दुई दिनको बसाइ सार्थक र उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।











प्रतिक्रिया