कक्षा १२ को परीक्षा ३ महिनाबाट घटाएर ४५ दिनमा परीक्षाफल

0
Shares

-द्रुत गतिमा काम हुँदै

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ४५ दिनभित्र प्रकाशित गर्नेगरी कार्ययोजना तयार गरेको छ । कार्ययोजनाअनुसार परीक्षाफल प्रकाशित गर्न ‘मार्किङ स्किम’ सुरु भइसकेको छ । जसअनुसार हरेक विषयको ५ जना विज्ञलाई राखेर कार्यशाला सञ्चालन भइरहेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न दिनुभएको निर्देशनका आधारमा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कार्ययोजना तयार गरी कार्यान्वयन गरेको हो । बोर्डले काठमाडौं उपत्यका र बोर्डका कार्यालयहरू रहेका जिल्लाहरूमा सबै प्रश्नपत्र संकलन गरी प्रदेशस्थित बोर्डको कार्यालयमा पु¥याइसकेको छ ।

बोर्डले परीक्षा सञ्चालन भई एकै दिन सुगम र परीक्षा सकिएपछि वैशाख तेस्रो साताभित्र सबै केन्द्रको उत्तरपुस्तिका संकलन गरिसकेको जानकारी दिँदै परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले तोकिएकै समयमा परीक्षाफल प्रकाशित गर्नेगरी सबै तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘मन्त्री र बोर्डको निर्देशन र निर्णयअनुसार सबै तयारी गरिसकेका छांै । असार १५ भित्र परीक्षाफल प्रकाशित गरिसक्ने छांै ।’

कार्ययोजनाअनुसार दैनिक रूपमा संकलन हुने उत्तर पुस्तिकाको विषयगत रूपमा प्याकिङ कार्य परीक्षा सञ्चालन भएको भोलिपल्ट गर्ने उल्लेख छ । त्यसै गरी उत्तरपुस्तिका परीक्षण गर्न बोर्डका सम्बन्धित कार्यालयअन्तर्गत विषयगत शिक्षक उपलब्ध हुन सक्ने स्थानहरूमा आवश्यकताअनुसार परीक्षण केन्द्र कायम गरी परीक्षण सुरु गरेको छ । बोर्डले विगतभन्दा थप व्यवस्थित रूपमा उत्तरपुस्तिका परीक्षण सुरु भएको जनाएको छ ।

परीक्षाण केन्द्र कायम गर्दा सम्भव भएसम्म सीसी क्यामेरा भएका विद्यालय रोज्दै सीसीटीभी नभएका परीक्षण केन्द्रमा सीसीटीभी जडान गरी परीक्षण सुरु गरेको छ । बोर्डले सीसीटीभी आवश्यक पर्ने सबै परीक्षण केन्द्रमा सीसीटीभी जडान सम्पन्न गरिसकेको छ । एकभन्दा बढी परीक्षण केन्द्र कायम भएकोमा कार्यालयले फरक जिल्ला र स्थानको परीक्षण केन्द्रमा पठाई परीक्षण सुरु गरेको छ ।

एउटामात्र केन्द्र र स्थान भएकोमा आफ्नो विद्यालयको नपर्ने गरी फरक विद्यालयको शिक्षकमार्फत परीक्षण गराउने काम भएको छ भने शिक्षक अभाव र अन्य कारणबाट परीक्षण हुन नसक्ने उत्तरपुस्तिका प्याकिङ गरी तत्काल परीक्षा नियन्त्रण कार्यालयमा पठाइएको छ ।

बोर्डले परीक्षण केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गरी सम्परीक्षण गर्न निर्देशन दिएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालयमा मात्र सम्परीक्षण हुने व्यवस्था थियो । ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न परीक्षण केन्द्रमै उत्तरपुस्तिका परीक्षण सुरु गरेको हो । बोर्डले सम्परीक्षण गर्न केन्द्रबाट हरेक विषयका कम्तीमा एक–एक जना अनुभवी सम्परीक्षक सम्बन्धित परीक्षण केन्द्रमा पठाउने अन्तिम तयारी गरेको छ ।

अन्य सम्परीक्षक खटाउँदा सम्बन्धित परीक्षकहरूमध्येबाट सम्परीक्षकको लागि मापदण्ड पुगेका परीक्षक मध्यबाटै आवश्यकताअनुसार नियुक्त गर्ने व्यवस्था गरिएको छ । सम्परीक्षण भएपछि प्राप्ताङ्कलाई खामबन्दी गरी तत्काल पुग्ने माध्यम प्रयोग गरी पनिकामा पठाउन सबै परीक्षण केन्द्रमा पत्राचार गरिएको छ ।

वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी थिए । यो वर्षको परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० परीक्षार्थी सहभागी थिए । सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६४ हजार ३३८ परीक्षार्थी सहभागी भएका छन् ।

यो वर्ष देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र थिए । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १ –१ केन्द्र निर्धारण गरिएको थियो ।