मानवीय समानुभूतिको संकट

0
Shares

चिनियाँ दार्शनिक कन्फ्युसियसले हजारौँ वर्षअघि भनेका थिए– ‘त्यस्तो व्यवहार अरुलाई नगर, जुन व्यवहार अरूले गर्दा तिमीलाई मन पर्दैन ।’ यो वाक्य केवल नैतिक उपदेशको एउटा हरफ मात्र होइन, बरु यो त समस्त मानव सभ्यतालाई जोड्ने एउटा यस्तो अदृश्य सूत्र हो, जसलाई बिर्सिनासाथ समाजमा विग्रह र व्यक्तिको मनमा अशान्ति शुरु हुन्छ । मानव इतिहासका जति पनि ठूला दार्शनिक चिन्तनहरू छन्, ती सबैको सार यही एउटै कुरामा आएर ठोक्किन्छ कि मानिसले आफ्नो ‘म’ र अरूको ‘म’ लाई कहिलेदेखि फरक देख्न थाल्यो ?

मानिसको सबैभन्दा ठूलो समस्या नै यही हो कि ऊ आफूलाई ब्रह्माण्डको केन्द्र मान्छ र बाँकी सारा संसारलाई आफ्नो इच्छापूर्तिको साधन मात्र ठान्छ । जब मानिस आफू सुख, सुविधा र आरामदायी स्थितिमा हुन्छ, तब उसलाई लाग्छ कि यो संसारमा सबै कुरा ठीकठाक छ, तर त्यही सुखको क्षणमा उसले बिर्सिन्छ कि कतै कोही उसको त्यही सुखको मूल्य चुकाइरहेको हुन सक्छ । आफ्नो अनुकूलतामा अरूको प्रतिकूलता नदेख्नु र आफ्नो प्रतिकूलतामा संसारभरिको अन्याय आफ्नै थाप्लोमा परेको महसुस गर्नु नै मानवीय प्रवृत्तिको सबैभन्दा कुरुप पक्ष हो । यो स्वार्थी चिन्तनले मानिसलाई यतिसम्म अन्धो बनाइदिन्छ कि उसले आफ्नो खुट्टामा बिझेको सानो काँडालाई पहाडजस्तो ठूलो देख्छ तर अरूको मुटुमा लागेको गहिरो चोटलाई केवल एउटा सामान्य समाचारको रूपमा ग्रहण गर्छ ।

मानवीय व्यवहारको यो दोहोरो मापदण्ड हाम्रा दैनिक क्रियाकलापहरूमा छर्लङ्ग देखिन्छ । एउटा डेरावालले घरधनीको घरलाई आफ्नो घर मान्दैन र त्यहाँको भित्तामा जथाभावी काँटी ठोक्दा वा सरसफाइमा ध्यान नदिँदा उसलाई कुनै आत्मग्लानि हुँदैन । उसको मस्तिष्कमा ‘यो मेरो होइन’ भन्ने एउटा यस्तो पर्खाल खडा भएको हुन्छ, जसले जिम्मेवारी र अपनत्वको भावनालाई पूर्णतः निषेध गरिदिन्छ । तर, विडम्बना के छ भने, त्यही व्यक्ति जब भविष्यमा आफ्नै घर बनाउँछ, तब उसले आफ्नो घरको भित्तामा एउटा सानो दाग लाग्दा पनि ठूलो पीडा महसुस गर्छ । यदि उसले डेरामा बस्दा नै ‘म घरधनी भएको भए मलाई कस्तो लाग्थ्यो होला ?’ भनेर सोच्न सकेको भए घरवालाको घर कुरूप हुन पाउँदैनथ्यो ।

ऊसँग कुनै विवाद पनि हुँदैनथ्यो । यही दायित्वहीनताको मनोवृत्ति सरकारी कार्यालयका कर्मचारीहरूमा पनि देखिन्छ । राज्यको ढुकुटीबाट तलब बुझ्ने तर काम गर्दा ‘घाटा लागे सरकारलाई लाग्छ’ भन्ने सोच्ने कर्मचारीले यो बिर्सन्छ कि त्यो सरकार उसकै छिमेकी, उसकै आफन्त र उसकै सन्ततिको पसिनाबाट सङ्कलित करको योगफल हो । जब व्यक्तिले संस्था वा राज्यलाई आफ्नो मान्न छोड्छ, तब भ्रष्टाचार र बेथिति मौलाउन थाल्छ । नेताहरूको अवस्था पनि योभन्दा भिन्न छैन । शक्तिमा पुगेपछि ‘मैले जसरी पनि कमाउनुपर्छ’ भन्ने सोच राख्नेहरूले यो भुल्छन् कि उनीहरूले आज जुन कुर्सीमा बसेर निर्णय गरिरहेका छन्, त्यो कुर्सी सधैँ उनीहरूको रहनेछैन । शक्तिको मातले मानिसलाई यति संवेदनहीन बनाउँछ कि उसले आफ्नो आर्जनका लागि हजारौँको आँसु र भविष्यसँग सम्झौता गर्न पनि हिचकिचाउँदैन ।

मानव जीवनमा समय एउटा यस्तो ऐना हो, जसमा हामी प्रत्येक पल बदलिइरहेका हुन्छौँ, तर त्यो परिवर्तनलाई स्वीकार गर्ने चेत हामीमा हुँदैन । युवावस्थामा रहेको मानिसले वृद्धवृद्धाको चाउरिएको गाला, काँपेको हात र लरखराएको बोली देख्दा घृणाभाव प्रकट गर्छ । उसलाई लाग्छ कि यो जवानी, यो ऊर्जा र यो सामथ्र्य सधैँका लागि उसको निजी सम्पत्ति हो । तर कालचक्रको गति यति तीव्र छ कि हेर्दाहेर्दै ऊ आफैँ पनि त्यही अवस्थामा पुग्छ, जहाँ आज ऊ अरूलाई देखेर घिनाइरहेको छ । यदि युवाहरूले आफ्नो बुढ्यौलीको ऐना आजै हेर्न सक्ने भए वृद्धवृद्धाहरूप्रतिको उनीहरूको व्यवहारमा श्रद्धा र करुणा भरिने थियो । अर्कोतिर, वृद्धवृद्धाहरू पनि केटाकेटीले गरेको चञ्चलता र चकचक देखेर दिक्क मान्छन् ।

उनीहरूले आफ्नो अतीतको त्यो रङ्गीन समय बिर्सन्छन् जब उनीहरूले पनि उस्तै उपद्रो गरेका थिए । यो विस्मृति नै पुस्ताहरूबीचको द्वन्द्वको मुख्य कारण हो । आफू बालक हुँदाको निर्दोषता र आफू वृद्ध हुँदाको विवशतालाई समयमै बोध गर्न सक्ने हो भने जीवनका धेरै उतारचढावहरू सहज बन्ने थिए । हामी प्रत्येक अवस्थामा आफूलाई मात्र सही देख्छौँ र अरूको अवस्थालाई बुझ्ने प्रयास नै गर्दैनौँ, जसले गर्दा सम्बन्धहरूमा कटुता र दूरी पैदा भइरहन्छ ।

संसारमा विद्यमान जातीय, सांस्कृतिक र धार्मिक बहुलता आफैँमा एउटा सुन्दर बगैँचा हो, तर मानिसको अहङ्कारले यसलाई युद्धको मैदान बनाइदिएको छ । खास गरी आफूलाई कुनै खास जाति, धर्म वा शक्तिको केन्द्रमा राख्ने मानिसहरूले आफूभन्दा फरकलाई गर्ने व्यवहार अति नै निर्मम र व्यक्तिवादी हुन्छ । धर्मको नाममा होस् वा शक्तिको नाममा, जब मानिसले अरूलाई ‘दोस्रो दर्जा’ को ठान्न थाल्छ, तब मानवताको मृत्यु हुन्छ । आफूलाई जे कुराले पीडा दिन्छ, त्यही कुरा अरूमाथि थोपर्नु अधर्म हो भन्ने कुरा प्रायः मानिसले बुझ्दैनन् । एउटा शासकले आफ्नो विरोधीलाई दमन गर्दा उसले कहिल्यै सोच्दैन कि यदि ऊ स्वयं त्यो ठाउँमा भएको भए उसलाई कस्तो महसुस हुन्थ्यो होला ।

मानिसले शक्तिको दम्भमा गर्ने हरेक निर्मम प्रहारले अन्ततः आफ्नै आत्मालाई कमजोर बनाइरहेको हुन्छ भन्ने शाश्वत सत्यलाई उसले भुल्ने गर्छ । इतिहास साक्षी छ, जति पनि तानाशाहहरू जन्मे, उनीहरूले अरूको रगतमा आफ्नो सुख खोजे, तर अन्ततः उनीहरूको पतन पनि उत्तिकै बीभत्स भयो । यदि उनीहरूमा अलिकति मात्र पनि समानुभूति हुन्थ्यो भने इतिहासको पानामा उनीहरूको नाम घृणाले होइन, श्रद्धाले लेखिने थियो ।

आजको संसार अशान्त, दुःखी र तनावपूर्ण हुनुको पछाडि एउटै मात्र कारण छ– हृदयको सङ्कुचन । हामी भौतिक रूपमा त जोडिएका छौँ, तर मानसिक र भावनात्मक रूपमा धेरै टाढा छौँ । एउटा मानिस अर्को मानिसको उपस्थितिबाट डराइरहेको छ, शङ्का गरिरहेको छ । ‘मलाई जस्तै अरुलाई पनि दुख्छ, मलाई जस्तै अरुलाई पनि समस्या परेको छ, मेरोजस्तै अरुको पनि मन छ’ भन्ने एउटा सामान्य बोध मात्रै पनि आम मानिसमा हुने हो भने धेरै अस्पताल र जेलहरूको आवश्यकता नै पर्ने थिएन । तर विडम्बना, हामी अरूको सफलतामा ईष्र्या गर्छौं र अरूको असफलतामा भित्रभित्रै खुसी हुन्छौँ । यो मानसिक दरिद्रताले हामीलाई कहिल्यै पनि वास्तविक सुख प्राप्त गर्न दिँदैन । हामी आफूले पाएको सानो सुविधालाई आफ्नो अधिकार ठान्छौँ तर अरूले पाएको ठूलो उपलब्धिलाई भाग्यको खेल वा षड्यन्त्र देख्छौँ । यो सोचले समाजमा एक प्रकारको अदृश्य शीतयुद्ध सधैँ जारी राख्छ ।

दार्शनिक दृष्टिकोणबाट हेर्ने हो भने, हामी सबै एउटै विराट चेतनाका अंश हौँ । जसरी शरीरको एउटा अङ्गमा चोट लाग्दा पूरै शरीरले पीडा महसुस गर्छ, त्यसै गरी समाजको एउटा व्यक्ति दुखी हुँदा त्यसको प्रभाव ढिलोचाँडो सबैमा पर्छ । तर मानिसले आफूलाई समाजबाट अलग एउटा स्वायत्त टापु सम्झने भूल गरिरहेको छ । डेरावालले बिगारेको भित्ता भोलि उसैको छोराछोरीले बस्ने घर हुन सक्छ, नेताले खाएको भ्रष्टाचारको पैसाले भोलि उसकै नातिनातिना पढ्ने विद्यालयको गुणस्तर खस्कन सक्छ । हामी जे रोप्छौँ, त्यही फल्छ भन्ने प्राकृतिक नियमलाई भुलेर हामी विष रोपेर अमृतको प्रतीक्षा गरिरहेका छौँ । अरूको अस्तित्वको सम्मान गर्नु नै आफ्नो अस्तित्वको रक्षा गर्नु हो भन्ने कुरा बुझ्न नसक्नु नै हाम्रो चेतनाको सबैभन्दा तल्लो स्तर हो ।

हामी अरूबाट सम्मान चाहन्छौँ, तर अरूलाई अपमान गर्न छोड्दैनौँ । हामी अरूबाट इमानदारीको अपेक्षा गर्छौं, तर आफू भने हरेक मोडमा बेइमानीको बाटो खोज्छौँ । यो विरोधाभासले हाम्रो व्यक्तित्वलाई खण्डित बनाइदिएको छ । कन्फ्युसियसको दर्शनले हामीलाई यही खण्डित व्यक्तित्वलाई जोड्ने मार्ग देखाउँछ । यदि तिमीलाई कसैले झुटो बोलेको मन पर्दैन भने, तिमी अरूसँग झुटो नबोल । यदि तिमीलाई कसैले हेपेको मन पर्दैन भने, तिमी कसैलाई नहेप । यति सानो सूत्रलाई मात्रै जीवनमा उतार्न सके पनि स्वर्ग अन्त कतै खोज्नै पर्दैन । तर मानिसलाई लाग्छ कि ऊ अरूभन्दा चलाख छ र उसले अरूलाई दिएको पीडा उसलाई कहिल्यै फर्केर आउँदैन । कर्मको सिद्धान्त यति कठोर छ कि यसले कसैलाई पनि माफी दिँदैन । आज हामीले अरूलाई गरेको व्यवहार नै भोलि हाम्रो नियति बनेर उभिन्छ ।

अन्ततः, यो संसार एउटा ठूलो पाठशाला हो र यहाँका हरेक पात्रहरू हाम्रा लागि सिकाइका माध्यम हुन् । अरूको दुःखमा हाँस्ने मानिसले कहिल्यै पनि साँचो हाँसो हाँस्न सक्दैन । जीवनको सार्थकता अरूलाई दबाउनमा होइन, बरु अरूलाई उठाउनमा छ । जब हामी अरूको आँसु पुच्छौँ, तब हाम्रै आफ्ना पीडाहरू हल्का भएर जान्छन् । जब हामी अरूको घरलाई आफ्नै घरजस्तै माया गर्छौं, तब मात्र हामी एउटा जिम्मेवार नागरिक बन्न सक्छौँ । जति बेलासम्म ‘म’ र ‘तिमी’ बीचको यो कृत्रिम पर्खाल रहिरहन्छ, तबसम्म संसार अशान्त नै रहिरहनेछ ।

तर जुन दिन हामीले अर्को व्यक्तिको आँखामा आफ्नै प्रतिविम्ब देख्न थाल्नेछौँ, त्यही दिनबाट कन्फ्युसियसको दर्शनले पूर्णता पाउनेछ र यो पृथ्वी वास्तवमै बस्नयोग्य ठाउँ बन्नेछ । त्यसैले, हरेक काम गर्नुअघि एकपटक शान्त भएर आफैँलाई सोधौँ– के मलाई यस्तै व्यवहार अरूले गरेको भए सह्य हुन्थ्यो ? यदि उत्तर ‘हुँदैन’ भन्ने आउँछ भने, त्यो काम कदापि नगरौँ । यही नै जीवनको सबैभन्दा ठूलो दर्शन र शाश्वत सत्य हो । मानवताको सुवास फैलाउन कुनै ठूलो क्रान्ति गर्नुपर्दैन, केवल आफ्नो व्यवहारमा थोरै मात्र समानुभूति र अलिकति मात्र अरूको भावनाको कदर गरे पुग्छ । यो नै अशान्त मनका लागि शान्तिको औषधि र दुःखी संसारका लागि सुखको चाबी हो ।