काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकार शाखामा बालेन्द्र शाह(बालेन) प्रधानमन्त्री बनेयता ५४ दिनको अवधिमा २० हजार बढी गुनासा तथा उजुरी परेका छन् ।
हेलो सरकार शाखाका अनुसार शाह प्रधानमन्त्री भएयता उजुरी आउने क्रम ह्वात्तै बढेको हो । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सो हेलो सरकार शाखामा देशभरबाट गरी दैनिक ३ सयदेखि ४ सयसम्म उजुरी प्राप्त हुँदै आएको छ । अहिले प्रधानमन्त्री कार्यालयको सो शाखामा कार्यरत झण्डै दर्जन कर्मचारीहरूलाई गुनासो टिप्ने र सुन्ने कामका लागि भ्याईनभ्याई हुने गरेको छ ।
हेलो सरकार शाखाका अनुसार विगत ५४ दिनमा हेल्लो सरकार पोर्टलमार्फत २० हजार ८ सय ४२ वटा उजुरी तथा प्राप्त भएका हुन् । यसै गरी दैनिक रूपमा टेलिफोनमा टिपाइने उजुरी पनि ठूलो संख्यामा रहेको छ । यद्यपि, टेलिफोनमा टिपाउने उजुरीलाई हेलो सरकार पोर्टलमार्फत नै व्यवस्थापन गर्ने गरिएको सो कार्यालयले जनाएको छ ।
हेल्लो सरकार शाखामा कार्यरत कर्मचारीहरूले टेलिफोनबाट उजुरी टिप्ने क्रममा सो उजुरी हेलो सरकारको पोर्टलमा समेत पठाउन आग्रह गरेबमोजिम ती गुनासाहरू पोर्टमा आउने गरेका छन् ।
हेलो सरकार शाखाका कर्मचारीहरूका अनुसार यतिबेला सबैभन्दा बढी उजुरीहरू वैदेशिक रोजगारीमा जान खोज्दा विभिन्न दलालहरूबाट आफूहरू ठगिएको सम्बन्धी उजुरीहरू प्राप्त भएका छन् । यसै गरी शैक्षिक क्षेत्रसँग सम्बन्धित उजुरीहरू पनि प्रशस्तै मात्रामा आउने गरेका छन् ।
अहिले विभिन्न विद्यालयहरूले विद्यार्थीहरूलाई भर्नाको समयमा चरम ठगी गरिरहेको भन्दै उजुरी आउने क्रम अत्यधिक बढेको हेल्लो सरकार शाखाले जनाएको छ । यसै गरी स्वास्थ्य क्षेत्रमा भएका ठगीविरुद्धका उजुरीहरू पनि अधिक संख्यामा आइरहेका छन् ।
यस्तै, देशका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमणमा परेको भन्दै अतिक्रमण गर्नेहरूमाथि कडा कारबाहीको माग गर्दै उजुरी पर्ने क्रम बढेको हेलो सरकार शाखाले जनाएको छ । यसै गरी देशका विभिन्न स्थानमा चोरीका घट्ना बढेको, श्रम शोषण क्रम बढेको, बिजुली जाने समस्या बढेको, तथा अन्य सामाजिक समस्याहरू ह्वात्तै बढेको भन्दै त्यस्ता कार्यहरू तत्काल रोक्न माग गर्दै उजुरी पर्ने क्रम बढेको हो ।
हेलो सरकार शाखाका अनुसार अहिले कार्यालयमा गुनासो टिप्नका लागि १० वटा टेलिफोनहरू प्रयोगमा ल्याइएका छन् । गुनासो तथा उजुरीका लागि सो शाखाले सामाजिक सञ्जालका विभिन्न माध्यमहरूसमेत प्रयोग गरिरहेको छ । हेलो सरकार शाखा सुरु भएयता सो शाखामा जम्मा १ लाख ३ हजार ४ सय ९१ वटा उजुरीहरू प्राप्त भएकोमा ६३ प्रतिशत उजुरीहरूमात्रै फस्र्यौट भएको जनाइएको छ । तथ्य प्रमाण नपुगेका झण्डै २५ हजार उजुरी त्यतिकै राखिएका छन् ।
शाह प्रधानमन्त्री भएर आययता ७ हजार ७ सय ५ वटा गुनासाहरू सम्बोधन भएको र अन्य गुनासाहरूको सम्बोधन गर्ने कार्यलाई द्रुत गतिमा अघि बढाइएको हेल्लो सरकार शाखाका कर्मचारीहरूले बताएका छन् ।











प्रतिक्रिया