दोलखा।
हरेक बिहानी दोलखा सदरमुकाम चरिकोटमा काँक्रा बेच्दै गरेको भेटिने नरबहादुर कार्की कृषि व्यवसायबाट सन्तुष्ट देखिन्छन् । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर– १ भीरकोट घर भएका नरबहादुर यो मौसममा दैनिक जसो चरिकोटमा काँक्रा बेच्न आउने गर्छन् ।
झन्डै दुई रोपनी जग्गामा काँक्रा लगाएको बताउने नरबहादुर जेठ देखि असारसम्मै चरिकोट ल्याएर काँक्रा बिक्री गर्दै आएको बताउँछन् । काँक्रा बिक्री गरेर राम्रै आम्दानी गरेको छु, नरबहादुर ले भने– काँक्राबाट मात्र वार्षिक झन्डै साढे दुईलाख आम्दानी हुन्छ ।

विगत सात बर्षदेखि काँक्रा लगायतका कृषि उत्पादन गर्दै आएका नरबहादुर सबैभन्दा धेर आम्दानी काँक्रा बिक्रिबाटै हुने गरेको बताउँछन् । उनले चरिकोट ल्याएर प्रति केजी एक सय २० देखि एक सय ५० रुपैयासम्ममा काँक्रा बिक्री गर्दै आएको सुनाए । काँक्राको सिजनमा नरबहादुर प्रायः चरिकोटमै बस्ने गर्छन् ।
गाउँबाट छोरा– बुहारीले उत्पादन भएका काँक्रा बसमा राखेर पठाएपछि नरबहादुर त्यसलाई चरिकोटको मुख्य चोक सातदोबाटोमा राखेर बिक्री गर्छन् ।
काँक्रा राम्रो भएकोले दुइ– तीन बोरा काँक्रा चोकमा ल्याएको केही समयमै बिक्री भै सक्छ– नरबहादुरले भने । तामाकोशी बजारका व्यवसायीहरु घरमै काँक्रा किन्न पुग्ने गरेपनि राम्रो दाम नआउने भएकोले आफूले हरेक बर्ष सदरमुकाम चरिकोटमै ल्याउर बिक्री गर्दै आएको नरबहादुरको भनाई छ ।

नरबहादुरले काँक्राको अलवा धान, तरकारी तथा बिभिन्न फलफूल समेत उत्पादन गर्छन् । मेहेनत गर्ने हो भने कृषि पेशाबाट राम्रो आम्दानी हुने उनको भनाई छ। म काँक्रा, धान र अन्य तरकारी तथा फलफूल बिक्री गरेर वार्षिक झन्डै चारलाख आम्दानी गर्छु, नरबहादुरले भने– यसले मेरो पारिवारिक गुजारा राम्रोसंग चलेको छ । कृषि पेशाबाटै आफूले नाति– नातिनाहरुलाई सदरमुकाम चरिकोटमै राखेर पढाई रहेको नरबहादुर बताउँछन् ।
कृषि व्यवसायलाई प्रवर्धन गर्दै युवाहरुलाई रोजगार बनाउन सरकारले उत्पादीत कृषि सामग्रीको बजार व्यवस्थापन र आवश्यक प्राविधिक परामर्शको प्रबन्ध गरिदिनुपर्ने उनको भनाई छ ।











प्रतिक्रिया