काठमाडौँ
डोङफेङ मोटर को एक सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी ब्रान्ड भोया अटोमोटिभ मा आफ्नो हिस्सेदारी बढाउँदै कम्पनीमाथिको नियन्त्रण अझ मजबुत बनाएको छ ।
भोयाले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार डोङफेङ मोटर (हङकङ) इन्टरनेशनलले सेकेन्डरी बजारमार्फत कम्पनीका २ करोड १ लाख ९० हजार एच–शेयर खरिद गरेको छ । यो खरिद कम्पनीको कुल जारी शेयर पूँजीको करिब ०.५५ प्रतिशत बराबर रहेको जनाइएको छ।
शेयर खरिद योजना कार्यान्वयनपछि भोयामा डोङफेङ मोटर तथा यससँग सम्बन्धित निकायहरूको संयुक्त हिस्सेदारी करिब ७०.०२ प्रतिशत पुगेको कम्पनीले जनाएको छ। हाल नियन्त्रणकारी शेयरधनीहरूले २ अर्ब ४३ करोड ८० लाखभन्दा बढी घरेलु शेयर तथा करिब १३ करोड ८० लाख एच–शेयर आफ्नो स्वामित्वमा राखेका छन् ।
सन् २०२० को अन्त्यतिर सार्वजनिक भई सन् २०२१ मा औपचारिक रूपमा स्थापना भएको भोयाले मुख्य रूपमा २ लाख युआनदेखि ५ लाख युआन मूल्य वर्गका विद्युतीय सवारीसाधन उत्पादन गर्दै आएको छ ।
अगस्ट २०२५ मा डोङफेङले भोयालाई “लिस्टिङ बाइ इन्ट्रोडक्सन” प्रक्रियामार्फत हङकङ स्टक एक्सचेन्जमा सूचीकृत गर्ने घोषणा गरेको थियो । यस प्रक्रियाअन्तर्गत पहिले नै जारी भइसकेका शेयरलाई बजारमा सूचीकृत गरिन्छ भने नयाँ शेयर जारी वा पूँजी संकलन गरिँदैन। हालका शेयरधनीसँग रहेका शेयर मात्रै कारोबारका लागि उपलब्ध हुने व्यवस्था रहन्छ ।
कम्पनीले आफ्नै सूचीकरणपछि इक्विटी रिफाइनान्सिङ गर्न नसक्दा एच–शेयर प्लेटफर्मको वित्तीय उपयोगिता कमजोर बनेको बताइएको छ । यसै वर्ष मार्च १९ मा भोया आधिकारिक रूपमा ०७४८९ स्टक कोड अन्तर्गत हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो ।
भोयाले सन् २०२५ मा १ अर्ब २ करोड युआन खुद आम्दानी गर्दै नाफा कमाएको जनाएको छ। कम्पनीको आम्दानी सन् २०२३ को १२ अर्ब ७५ करोड युआनबाट बढेर सन् २०२५ मा ३४ अर्ब ८६ करोड युआन पुगेको छ । यस अवधिमा गाडी बिक्री ५० हजार २८५ युनिटबाट बढेर १ लाख ५० हजार १६९ युनिट पुगेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, चालु वर्षको पहिलो चार महिनामा भोयाले ४९ हजार ३८ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.०२ प्रतिशतले बढी रहेको बताइएको छ ।











प्रतिक्रिया