काठमाडौँ
सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड को आठौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष कुनाल कयाल को अध्यक्षतामा नेपाल पुलिस क्लब, प्रदर्शनीमार्ग काठमाडौंमा सम्पन्न भएको छ ।
सभामा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कयालले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिमको वित्तीय विवरण पेश गरेका थिए । उक्त प्रस्ताव सभाले सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा आर.एस.एम. ए. एशोसियट्स लाई नियुक्त गर्ने सञ्चालक समितिको प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।
सञ्चालक समितिबाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँमा ५ प्रतिशतका दरले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पनि सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । साथै, ऐनको दफा १०५ को उपदफा १(ग) बमोजिम आर्थिक वर्ष २०८१÷०८२ मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव समेत पारित गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको सातौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद शेयर बमोजिम हुने ३६ लाख ५५ हजार कित्ता शेयर समावेश गरी बोनस शेयर जारीपश्चात कायम हुने चुक्ता पुँजीमा आवश्यक पुनरावलोकन गर्न सक्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिएको छ । साथै, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृति गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोअनुसार संशोधन तथा अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
सभामा कम्पनीले ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्दै व्यवसाय विस्तारमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रममा अध्यक्ष कुनाल कयालले उपस्थित सम्पूर्ण शेयरधनी तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै सभा विसर्जन गरेका थिए ।











प्रतिक्रिया