शिक्षा र खेलकुदमा पहुँच विस्तार गर्न मेटलाइफ र ग्लोबल सिटिजनद्वारा “फुटवर्क फर फ्युचर्स” सामाजिक सञ्जाल चुनौती


काठमाडौँ
मेटलाइफ र ग्लोबल सिटिजन ले “फुटवर्क फर फ्युचर्स” नामक विश्वव्यापी फुटबल–थिम सामाजिक सञ्जाल चुनौतीको घोषणा गरेका छन् । उक्त अभियानले बालबालिकाको गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँच विस्तार गर्दै आत्मविश्वासी र लचिलो समुदाय निर्माणमा सहयोग गर्ने लक्ष्य राखेको छ ।

अभियानअन्तर्गत सहभागीहरूले इन्स्टाग्राम, लिंक्डइन, एक्स, टिकटक वा फेसबुकमा फुटबल बल जगल गर्दै वा जगल गर्ने प्रयास गरिरहेको छोटो भिडियो साझा गर्नुपर्नेछ। साथै, भिडियोमा “३फुटवर्कफरफ्युचर्स” समावेश गर्नुपर्ने वा ग्लोबल सिटिजन एपमार्फत भिडियो पठाउन सकिने व्यवस्था गरिएको छ । प्रत्येक योग्य भिडियोका लागि मेटलाइफले फिफा ग्लोबल सिटिजन एजुकेशन फन्डमा पाँच अमेरिकी डलर योगदान गर्नेछ, जुन अधिकतम एक लाख अमेरिकी डलरसम्म रहने बताइएको छ ।

यो सामाजिक अभियान मेटलाइफ फाउन्डेसनको फिफा ग्लोबल सिटिजन एजुकेशन फन्डमा गरिएको ९ मिलियन अमेरिकी डलरको संस्थापक योगदानमा आधारित रहेको जनाइएको छ । उक्त कोषमार्फत विश्वभरका समुदायमा शिक्षा र खेलकुद कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूलाई अनुदान उपलब्ध गराइन्छ । अभियानले फिफा विश्वकप २०२६ को उत्साहलाई उपयोग गर्दै बालबालिकाको आत्मविश्वास अभिवृद्धि र समुदाय सशक्तीकरणमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।

मेटलाइफकी ग्लोबल सस्टेनेबिलिटी प्रमुख तथा मेटलाइफ फाउन्डेसनकी अध्यक्ष नुरिया गार्सिया ले फुटबलप्रतिको विश्वव्यापी आकर्षण र शिक्षाको शक्तिलाई एकताबद्ध गर्दै समुदायलाई सशक्त बनाउन सकिने बताइन् । उनले “फुटवर्क फर फ्युचर्स” अभियानलाई रमाइलो, व्यवहारिक र सबैका लागि सहज पहलका रूपमा वर्णन गर्दै प्रत्येक भिडियोले युवाहरूको आत्मविश्वासी भविष्य निर्माणमा योगदान पु¥याउने उल्लेख गरिन् ।

यो अभियानमा जो कोहीले पनि आफ्नो सीप वा अनुभवको पर्वाह नगरी सहभागिता जनाउन सक्नेछन्। कार्यक्रम मे १२ देखि जुलाई १९, २०२६ सम्म वा एक लाख अमेरिकी डलर बराबरको योगदान नपुग्दासम्म सञ्चालन हुनेछ । सहभागीहरूलाई साथीभाइ र परिवारलाई समेत अभियानमा सहभागी गराउन प्रोत्साहन गरिएको छ ।

अभियानमा सहभागी हुने सबै भिडियोहरूले सम्बन्धित सामाजिक सञ्जाल प्लेटफर्मका नियम तथा अभियानका सर्तहरू पालना गर्नुपर्नेछ । योग्य भिडियोमा वास्तविक व्यक्तिले सुरक्षित रूपमा फुटबल बल जगल गरिरहेको वा प्रयास गरिरहेको स्पष्ट देखिनुपर्ने जनाइएको छ । मापदण्ड पूरा नगर्ने भिडियोहरूलाई अयोग्य घोषित गर्ने अधिकार ग्लोबल सिटिजनसँग रहने बताइएको छ ।

मेटलाइफ फाउन्डेसन ले आर्थिक रूपमा कमजोर समुदायहरूको आर्थिक स्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सन् १९७६ मा स्थापना भएको फाउन्डेसनले विश्वभरका समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरूमा ठूलो लगानी गर्दै आएको जनाएको छ ।

त्यसैगरी, मेटलाइफ सन् १८६८ मा स्थापना भएको विश्वव्यापी वित्तीय सेवा प्रदायक कम्पनी हो, जसले बीमा, एन्युटी, कर्मचारी लाभ योजना तथा सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ । कम्पनी हाल विश्वका ४० भन्दा बढी बजारमा सञ्चालनमा रहेको छ ।

ग्लोबल सिटिजन चरम गरिबी अन्त्य गर्ने उद्देश्यसहित सञ्चालन भएको विश्वव्यापी अभियान हो । सन् २००८ मा अष्ट्रेलियाबाट सुरु भएको यो अभियानले शिक्षा, स्वास्थ्य, नीति, मनोरञ्जन तथा सामाजिक क्षेत्रमा विभिन्न पहलमार्फत विश्वव्यापी प्रभाव विस्तार गर्दै आएको जनाएको छ ।