काठमाडौं ।
नेपाल प्रहरीले आगामी तीन वर्षका लागि लागू हुने ‘नेपाल प्रहरी रणनीतिक योजना २०८३–२०८५’ सार्वजनिक गरेको छ । “नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण” भन्ने मूल नारासहित सार्वजनिक गरिएको रणनीतिक योजनाले प्रहरी सेवालाई प्रविधिमैत्री, उत्तरदायी र नागरिकमैत्री बनाउने लक्ष्य लिएको छ।
रणनीतिक योजनामा “सुरक्षित समुदायका लागि चुस्त प्रहरी सेवा” भन्ने रणनीतिक अवधारणालाई अघि सारिएको छ । योजना अनुसार नेपाल प्रहरीलाई अझ सक्षम, उत्तरदायी, व्यावसायिक र भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
प्रहरीले विगतको रणनीतिक योजना २०८०–०८२ को समीक्षा गर्दै नयाँ योजना तयार गरेको जनाएको छ । अघिल्लो योजनामा समेटिएका ९३ मुख्य लक्ष्य र ४० कार्यगत उद्देश्यहरूमध्ये अधिकांश कार्य प्रगति उन्मुख रहेको उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार यस अवधिमा ६४ वटा नीति, निर्देशिका, मापदण्ड र कार्यविधि तयार पारिएका छन् भने विभिन्न प्रहरी कार्यालयमा सहायता कक्ष निर्माण, ‘वेपन क्लियरिङ पिट’ स्थापना, इन्ट्रानेट विस्तार, सीसीटीभी जडान, पुस्तकालय निर्माण तथा भवन निर्माणजस्ता पूर्वाधार विकासका काम सम्पन्न भएका छन् ।
नयाँ रणनीतिक योजनाले सात प्रमुख रणनीतिक क्षेत्र तय गरेको छ । जसमा नीति, योजना तथा अन्तरनिकाय समन्वय, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन, अपराध रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, मानव स्रोत विकास, भौतिक पूर्वाधार तथा सहायक सेवा र सूचना प्रविधिलाई प्राथमिकतामा राखिएको छ ।
योजनामा कृत्रिम बौद्धिकता (Artificial Intelligence) सहित आधुनिक सूचना प्रविधिको प्रयोग बढाउँदै प्रहरी सेवाको प्रभावकारिता, चुस्तता र नागरिक पहुँच अभिवृद्धि गर्ने उल्लेख छ । साथै समुदाय–प्रहरी साझेदारी, समस्या केन्द्रित प्रहरी सेवा (Problem-oriented Policing) र सूचना–आधारित अनुसन्धान प्रणालीलाई सुदृढ बनाइने जनाइएको छ ।
रणनीतिक योजनाले प्रहरी प्रशासन तथा सेवा प्रवाह प्रणालीको कार्यदक्षता सुधार, जनशक्तिको व्यावसायिक क्षमता विकास, अपराध अनुसन्धानको विशिष्टीकरण र वैज्ञानिक अनुगमन तथा मूल्याङ्कन प्रणाली विकासलाई समेत प्राथमिकता दिएको छ ।
नेपाल प्रहरीले रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयनका लागि वार्षिक कार्ययोजना निर्माण गरिने र सबै प्रहरी इकाइले आफ्ना कार्यसम्पादन सम्झौतामार्फत योजनाका कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ ।











प्रतिक्रिया