रौतहट ।
रौतहटको मौलापुर नगरपालिकाले संघीय सरकारका कर्मचारीमार्फत नगरपालिकाको कामकारबाहीमा अनावश्यक हस्तक्षेप भएको आरोप लगाएको छ नगर प्रमुख रिना कुमारी साहद्वारा जारी वक्तव्यमा “छोरीसँग मेयर कार्यक्रम” अन्तर्गत छोरीको विवाह सहयोग रकम भुक्तानीका विषयलाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको उल्लेख गरिएको छ।
नगरपालिकाले नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रमअनुसार “फ्री बिजुली, फ्री पानी” कार्यक्रमअन्तर्गत धारा तथा सिँचाइ योजनाको मिटर शुल्क भुक्तानीका लागि आवश्यक विनियोजित बजेटलाई खर्च गर्न नदिने संघीय सरकारको हस्तक्षेपबाट लक्षित वर्ग प्रभावित हुने जनाइएको छ।

त्यस्तै “छोरीसँग मेयर कार्यक्रम” अन्तर्गत प्रत्येक छोरीको विवाहमा आर्थिक सहयोग उपलब्ध गराउन आवश्यक रकम सुनिश्चित गरिएकोनगर प्रमुख रिना कुमारी साहद्वारा जारी वक्तव्यमा उल्लेख छ। नगरपालिकाले यी कार्यक्रमलाई जनमुखी र लोकप्रिय कार्यक्रमका रूपमा कार्यान्वयन गर्दै आएको जनाएको छ। वक्तव्यमा चालु आर्थिक वर्षको सुरुदेखि नै प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा कार्यालयमा उपस्थित नहुने, बैंक खाता सञ्चालन प्रक्रिया अवरुद्ध भएको तथा पटक–पटक निर्देशन दिँदा पनि विभिन्न बहानामा काममा ढिलाइ गरिएको आरोप लगाइएको छ।
यसले बजेट कार्यान्वयनमा समस्या उत्पन्न भएको नगरपालिकाको दाबी छ। नगरपालिकाले स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप भएको भन्दै यस्तो गतिविधिले संविधान प्रदत्त अधिकारमाथि प्रश्न उठाएको जनाएको छ। साथै, “माथिको आदेश” भन्दै नगरसभाबाट पारित कार्यक्रमको भुक्तानी रोक्ने तथा योजना कार्यान्वयनमा अवरोध सिर्जना गर्ने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरिएको छ।
प्रेस वक्तव्यको अन्त्यमा नेपाल सरकार तथा प्रधानमन्त्रीसमक्ष मौलापुर नगरपालिकामा भइरहेको भनिएको गैरकानुनी हस्तक्षेप रोक्न र संविधान तथा कानूनअनुसार स्थानीय तह सञ्चालन गर्न आवश्यक निर्देशन दिन आग्रह गरिएको छ।











प्रतिक्रिया