असारसम्म ११, दशैअघि सबै मन्त्री निवासमा

तयार हुनासाथ सर्न थाल्ने

2.91k
Shares

ललितपुर ।

ललितपुर भैंसेपाटीस्थित मन्त्रीनिवास परिसरको पुनःनिर्माण द्रुत गतिमा अघि बढेको छ । पहिलो चरणको ठेक्काअन्तर्गत ११ वटा भवन पुनःनिर्माण सुरु भइसकेको छ । ती भवनहरूमा रङ लगाउने, कोठाहरूमा फर्निचरदेखि सबै सामान खरिद गर्ने र फल्स सिलिङदेखि पूरै घर पुनःनिर्माण कार्य सुरु भएको हो ।

गत भदौ २३ र २४ को जेन–जी आन्दोलनमा २७ भवनमध्ये २६ वटा भवन आगलागीका कारण क्षतिग्रस्त भएका थिए । त्यसबेला बचेको एकमात्र रक्षामन्त्री निवासमा हाल पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निवास छ । सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार करिब एक महिनाअघि सम्झौता भएको ११ वटा भवनको पुनःनिर्माण असार मसान्तसम्ममा सक्ने योजना छ भने बाँकी भवनको पुनःनिर्माणका लागि एक दुई दिनमै सम्झौता हुँदैछ ।

आगामी असारमा ११ र दशैंअघि १६ जना मन्त्री, उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षलाई सार्नेगरी भैंसेपाटी मन्त्री निवासको पुनर्निर्माण सक्ने सरकारको तयारी छ । हाल केही मन्त्रीहरू पुल्चोकस्थित पुरानो मन्त्री निवासमा बसिरहेका छन् । ११ भवनको पुनःनिर्माण गर्न करिब १५ करोड रुपियाँ लाग्ने अनुमान छ । कार्यालय प्रमुख कण्ठका अनुसार चालू आर्थिक वर्षभित्र ११ ब्लकको काम सकेर भवन प्रयोग गर्न योग्य बनाउने लक्ष्य छ ।

एक वर्षअघि भैंसेपाटीमा मन्त्री, राष्ट्रियसभा उपाध्यक्ष र प्रतिनिधिसभा उपसभामुख बस्ने गर्नुभएको थियो । जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका भवनबाट मन्त्री, मन्त्रीका आफन्त र सुरक्षाकर्मीलाई सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो । करिब ३ अर्ब रुपियाँ खर्चिएर निर्माण गरिएको मन्त्री निवासको पारीपट्टी रहेको प्रदेश प्रमुख र मुख्यमन्त्रीको भवन समेत पूर्ण रूपमा क्षतिग्रस्त छ । ती भवनको पुनर्निर्माण भने अझै अनिश्चित छ ।

सरकारले बाटो चौडा गर्ने विषयमा स्थानीयसँग कुरा नमिल्दा एक स्थानमा कम्पाउन्ड लगाउन सकेको थिएन । कम्पाउन्ड नभएकै कारण जेन–जी आन्दोलनकारी खुला क्षेत्रबाट छिरेर तोडफोड गर्नुका साथै २६ वटा भवनमा आगजनी गरेका थिए । अब फेरि कुनै अप्रिय घटना नहोस् भनेर बाटोको विषयमा देखिएको समस्या समाधान गर्न नयाँ सरकारले पहल गर्नुपर्नेमा कण्ठले जोड दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा वि.सं. २०७६ असोज १३ असोजमा शिलान्यास भएको मन्त्री निवास परिसरमा २७ ब्लक, एउटा साइट अफिस, जिमखाना, हेल्थ क्लब र सुरक्षार्मीको कोठा छ । वि.सं. २०८२ भदौमा ओली सरकारका मन्त्रीहरू निवास सरिसकेका थिए । सरेको एकवर्षमै जेन–जी आन्दोलनका कारण भवन क्षतिग्रस्त भएको थियो ।
यसअघि पुल्चोकमा रहेको मन्त्री निवास अहिले न्यायाधीश निवासमा परिणत गरिएको छ ।