काठमाडौँ ।
प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ पुस्तक विमोचन गरिएको छ ।
एडु टुडे प्रालिद्वारा प्रकाशित सो पुस्तक शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, प्राडा बालचन्द्र लुईँटेल, नेपाल सरकारका पूर्वसचिव डा. हरिप्रसाद लम्साल, शिक्षक सेवा आयोगका पूर्वसदस्य नन्दकुमारी महर्जनलगायतले विमोचन गरेका हुन् ।
कार्यक्रममा वक्ताहरूले पुस्तकले नेपाली जनता र समाजको रूपान्तरणका लागि चिन्तन प्रस्तुत गरेको बताउँदै शिक्षाको रूपान्तरणबाट मात्रै मुलुक समृद्ध बन्नेमा जोड दिएका थिए ।

पुस्तकमाथि बोल्दै शिक्षाविद् डा कोइरालाले शैक्षिक चिन्तन र व्यवहारलाई जोड्ने सीप शिक्षकहरूमा हुने बताए । उनले प्रविधि तथा आईटीको विकाससँगै विद्यार्थीलाई सिप र सिर्जनशीलतासँग जोड्नु पर्ने चिन्तनको खाँचो रहेको उल्लेख गर्दै प्रविधिको प्रयोगमा नोकर, साथी र मालिक के बनाउने सोच्नुपर्ने धारणा व्यक्त गरे ।
शिक्षाविद् प्रा.डा बालचन्द्र लुईँटेलले विदेशका अनुभव लिने क्रममा सफल अभ्यासलाई मात्रै ग्रहण गर्नुपर्ने बताए । उनले विद्यालयले चेतना खुलाउने र त्यसका लागि सिपपनि चाहिने बताउँदै विद्यालयमै उद्योग खोल्ने जस्ता कार्यक्रमले ज्ञान नदिने विचार व्यक्त गरे । विद्यालयले चेतना र ज्ञानका लागि काम गर्नुपर्छ । शिक्षाले यन्त्र उत्पादन गर्ने हो, यन्त्रले शिक्षा उत्पादन गर्नेतिर होइन । यन्त्रमा प्रेम, माय, स्नेह हुँदैन, प्रेम, माय, स्नेह हुने शिक्षा हुनुपर्छ उनको भनाई थियो ।

पूर्वसचिव लम्सालले नीति र व्यवहारलाई सिंहावलोकन गर्न पुस्तक उपयोगी हुने बताए । नेपालको शिक्षालाई बुझन पुस्तकले विभिन्न दृष्टिकोण दिएको उल्लेख गर्दै देशमै राम्रा गरिरहेका विद्यालयका बारेमा पनि खोजी हुन आवश्यक रहेको विचार व्यक्त गरे । प्रधानाध्यापकले चाहे विद्यालय राम्रो बनाउन सकिने उदाहरण दिँदै राम्रा गर्ने विद्यालयमा छुट्टै कानुन र छुट्टै पाठ्यक्रम नभएको र शिक्षकलाई सम्मान दिए सम्भव रहेको बताए । डा.लम्सालले सिंहदरबारको आँखाबाट हेर्दा शिक्षकहरू राजनीतिमा लागेको भन्ने तरिकाबाट हेरिएको तर त्यसो नहुँन सक्ने भएकोले शिक्षकलाई बुझ्न एउटै दृष्टिकोणबाट नहेरी फरक फरक कोण हेरिनुपर्नेमा जोड् दिए ।
पुस्तकका लेखक सुधामप्रसाद गौतमले सामुदायिक विद्यालय सुधार्न सम्भव छैन भन्ने भाष्य बनिरहेको अवस्थामा सामुदायिक विद्यालय विद्यार्थीको केन्द्र बन्न सक्छन् भन्ने उदेश्यले अनुसन्धान र अवलोकनका आधारमा पुस्तक लेखिएको जानकारी दिए ।
उनले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई विद्यालयको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को रुपमा पुन परिभाषित गर्ने मोडेलमा उर्तानुपर्ने विषयलाई पुस्तकमा समावेश गरिएको बताए । यसैगरी शिक्षा सुधार केवल शिक्षक वा सरकारी निकायको जिम्मेवारी मात्रै नभई अभिभावकसँगको साझेदारी पनि उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गरे । गौतमले अभिभावकलाई गुनासो कर्ता नभई सक्रिय साझेदारका रूपमा विद्यालयीयको नेतृत्वले लिन सके रूपान्तरण सम्भव रहेको बताए ।
यस्तै शिक्षा पत्रकार प्रकाश सिलवालले आगामी पुस्तकमा शिक्षण विधि र समग्र राम्रा अभ्यासलाई ल्याउनु पर्ने सुझाब दिए । सङ्घका वरिष्ठ उपाध्यक्ष हेरम्बराज कँडेलले पनि पुस्तकका अन्तर्वस्तुबारे प्रकाश पारका थिए ।











प्रतिक्रिया