कांग्रेस–एमालेमा नेतृत्व संकट

0
Shares

हस्तान्तरणको बहसले सतहमा ल्यायो आन्तरिक किचलो

काठमाडौं ।

देशका पुराना र ठूला राजनीतिक दलहरू यति बेला दोहोरो दबाबमा छन् । एकातिर नयाँ राजनीतिक शक्तिको उदय र जनविश्वासको क्षयीकरण, अर्कोतिर पार्टीभित्रै नेतृत्व हस्तान्तरणको तीव्र बहस चलेको छ । विशेषतः नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएको आन्तरिक शक्ति संघर्षले यी दलहरूको संगठनात्मक भविष्यलाई नै चुनौती दिन थालेको छ ।

गत फागुन २१ को निर्वाचनपछि केही समय दबिएको आन्तरिक असन्तुष्टि अहिले खुला बहसमा रूपान्तरित भएको छ । दुवै दलमा नेतृत्व पुस्तान्तरणको विषयले तीव्र ध्रुवीकरण सिर्जना गरेको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीमाथि पदत्यागको दबाब बढिरहेको छ भने कांग्रेसमा सभापति गगन थापा र पूर्णबहादुर खड्काको समान्तार गतिविधिले कसले नेतृत्व सम्हाल्ने भन्ने प्रतिस्पर्धा चर्किंदै गएको छ ।

एमालेभित्र अहिले सबैभन्दा बढी चर्चा नेतृत्व परिवर्तनकै भइरहेको छ । पार्टी अध्यक्ष ओलीमाथि पार्टीलाई लगातार संकटतर्फ धकेलेको, जनाधार कमजोर बनाएको र संगठनलाई व्यक्तिकेन्द्रित बनाएको आरोप लाग्दै आएको छ । पछिल्लो समय ओलीनिकट मानिएका नेताहरू नै अब नेतृत्व हस्तान्तरणको पक्षमा उभिन थालेको चर्चा एमाले वृत्तमा तीव्र छ । विशेषगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेल महासचिव शंकर पोखरेल तथा उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङबीच नेतृत्वबारे अनौपचारिक समझदारी बनिसकेको चर्चा राजनीतिक वृत्तमा व्यापक छ ।

यद्यपि, पौडेल सार्वजनिक रूपमा खुल्नुभएको छैन । सञ्चारकर्मीसँगको छोटो संवादमा समेत उहाँले यो विषयमा पछि कुरा गरौँला भन्दै टार्ने गर्दै आउनुभएको छ । तर, एमालेभित्रको शक्ति सन्तुलनमा उहाँ निर्णायक भूमिकामा देखिन थाल्नुभएको छ । महासचिव पोखरेल र पौडेलबीच भावी नेतृत्वको समझदारी बनेको चर्चा पनि एमालेभित्र चलिरहेको छ । यता, सार्वजनिक रूपमा ओलीको सबैभन्दा आक्रामक बचाउ गर्दै आउनुभएका पृथ्वी सुब्बा गुरुङले समेत समयको माग परिवर्तन हो भन्ने अभिव्यक्ति दिएपछि एमालेभित्रको असन्तुष्टि सतहमै आएको बुझ्न कठिन छैन ।

राजनीतिक विश्लेषक हरि रोक्काका अनुसार एमाले अहिले ‘नेतृत्व थकान’ को अवस्थाबाट गुज्रिरहेको छ । उहाँले भन्नुभयो– ‘एमालेमा समस्या केवल नेतृत्व परिवर्तनको होइन, नेतृत्व शैलीको पनि हो । लामो समय एउटै व्यक्तिमा शक्ति केन्द्रित हुँदा संस्थागत प्रणाली कमजोर भयो । अहिले ओलीपछि कसले भन्नेभन्दा पनि एमाले कसरी पुनर्गठन हुने भन्ने बहस महत्वपूर्ण बनेको छ ।’

एमालेभित्र सबैभन्दा ठूलो तरंग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः सक्रियताले ल्याएको छ । पार्टी सदस्यता रोकिएको अवस्थामा रहेकी भण्डारीले सार्वजनिक रूपमै ओलीले नेतृत्व छाड्नुपर्ने धारणा व्यक्त गरिसक्नुभएको छ । त्यसपछि ओली र भण्डारीबीच बढ्दो निकटताले एमाले राजनीतिलाई नयाँ मोड दिएको छ ।

मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइनु सामान्य घटना थिएन । उक्त कार्यक्रममा विष्णु पौडेल, शंकर पोखरेल र रामबहादुर थापा ‘बादल’को उपस्थिति एमालेभित्र नयाँ शक्ति समीकरणको संकेतका रूपमा हेरिएको छ । भण्डारीनिकट नेता कर्ण थापाका अनुसार एमालेभित्र अहिले दुई धार स्पष्ट देखिएका छन् । ‘एउटा धार केपी ओलीले तत्काल नेतृत्व छाड्नुपर्छ भन्नेमा छ,’ उहाँले भन्नुभयो– ‘अर्को धार सहमतिमा नेतृत्व हस्तान्तरण गराउनुपर्छ भन्नेमा छ ।’ उहाँका अनुसार ‘ओलीको विकल्प छैन’ भन्ने समूह अहिले अत्यन्त सानो भइसकेको छ । राजनीतिक विश्लेषक पुरुषोत्तम ढकालका अनुसार विद्या भण्डारीको सक्रियता केवल ‘प्रतीकात्मक’ होइन ।

‘ओलीले आफ्नो बहिर्गमनलाई सहज र सुरक्षित बनाउन भण्डारी कार्ड प्रयोग गर्न खोजेको देखिन्छ,’ उहाँले भन्नुभयो– ‘तर यसले नेतृत्व हस्तान्तरणको बहस रोक्दैन, बरु थप तीव्र बनाउँछ ।’ एमालेभित्र अर्को चासोको विषय भनेको पुष्प कमल दाहाल ‘प्रचण्ड’सँग सम्भावित सहकार्यको संकेत हो । ओली अस्पतालमा रहँदा प्रचण्डले भेट गरेको र त्यही क्रममा राजनीतिक सहकार्यबारे कुराकानी भएको चर्चा बाहिर आएको थियो । पछिल्ला दिनमा प्रचण्डले बारम्बार ‘वाम एकता अपरिहार्य’ भएको अभिव्यक्ति दिइरहनु भएको छ ।

तर, धेरै विश्लेषकहरूले यसलाई वैचारिकभन्दा बढी ‘नेतृत्व संकट व्यवस्थापन’को प्रयासका रूपमा हेरेका छन् । राजनीतिक विश्लेषक चन्द्रदेव भट्ट भन्नुहुन्छ– ‘वाम एकताको नारा अहिले वैचारिकभन्दा बढी अस्तित्व जोगाउने रणनीति जस्तो देखिन्छ । एमाले र माओवादी दुवै दलमा पुरानो नेतृत्वमाथि प्रश्न उठिरहेको बेला एकताको बहसलाई ‘सेफ ल्यान्डिङ’ का रूपमा प्रयोग गर्न खोजिएको छ ।’

यता, कांग्रेसभित्र पनि स्थिति सहज छैन । सभापति थापाको नेतृत्वमाथि खुलेर प्रश्न उठ्न थालेको छ । विशेषतः पार्टीभित्र अहिले दुई शक्ति केन्द्र समानान्तर रूपमा सक्रिय देखिएका छन् । एकातिर देउवा स्वयं हुनुहुन्छ भने अर्कोतर्फ सभापति थापाले आफ्नो राजनीतिक सक्रियता बढाइरहनुभएको छ । जिल्ला दौडधुप, कार्यकर्ता भेटघाट, गुटगत समीकरण र संगठन विस्तारका गतिविधिले कांग्रेसभित्र आगामी नेतृत्व संघर्षको संकेत दिइरहेको छ । यसले तल्लो तहका कार्यकर्तामा अन्योल र निराशा बढाएको नेताहरू नै स्वीकार गर्छन् ।

कांग्रेसनिकट एक नेताका अनुसार अहिले पार्टीभित्र ‘उत्तराधिकारी निर्माण’ को प्रतिस्पर्धा सुरु भइसकेको छ । राजनीतिक विश्लेषक हरिहरदेव पाण्डेका अनुसार कांग्रेस र एमाले दुवै अहिले ‘संक्रमणकालीन नेतृत्व संकट’बाट गुज्रिरहेका छन् । ‘यी दुवै दलमा नयाँ पुस्ता नेतृत्वमा आउन चाहन्छ, तर पुरानो पुस्ता सहज रूपमा शक्ति हस्तान्तरण गर्न तयार देखिँदैन,’ उहाँले भन्नुभयो– ‘यसले संगठनभित्र अविश्वास र ध्रुवीकरण बढाएको छ ।’ उहाँका अनुसार कांग्रेसमा विचार र संगठनभन्दा गुट व्यवस्थापन ठूलो विषय बन्न थालेको छ ।

नयाँ राजनीतिक दलहरूको उदय, सामाजिक सञ्जालको प्रभाव, युवा पुस्ताको असन्तुष्टि र भ्रष्टाचारविरुद्धको जनआक्रोशले पुराना दलमाथि दबाब बढाइरहेको छ । यसबीच आन्तरिक किचलोले कांग्रेस र एमाले दुवैलाई थप कमजोर बनाउने जोखिम देखिएको छ । विश्लेषकहरूका अनुसार नेतृत्व हस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि नेपालका दलहरूमा त्यो अझै संस्थागत रूपमा हुन सकेको छैन । नेतृत्व परिवर्तन बहसभन्दा बढी संघर्षको विषय बन्ने गरेको छ ।

राजनीतिक विश्लेषक हरि रोका भन्नुहुन्छ– ‘यदि पुराना दलहरूले समयमै नेतृत्व रूपान्तरण गर्न सकेनन् भने जनताको निराशा अझ बढ्छ । अहिलेको संकट केवल व्यक्तिको होइन, पुरानो राजनीतिक संस्कृतिको संकट हो ।’ एमाले र कांग्रेस दुवै दल अहिले निर्णायक मोडमा उभिएका छन् । एमालेमा ओलीपछि कसले नेतृत्व सम्हाल्छ भन्ने प्रश्न अब औपचारिक बहस बन्न थालेको छ । कांग्रेसमा पनि देउवापछिको शक्ति संघर्ष विस्तार हुँदै गएको छ ।

भण्डारीको पार्टी सदस्यताले तरंग

एमालेभित्र सबैभन्दा ठूलो तरंग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः सक्रियताले ल्याएको छ । एमालेले सोमबार उहाँलाई पार्टी सदस्यता प्रदान गरेपछि एकाएक उहाँको सक्रियता बढेको हो । अहिले ओली र भण्डारीबीच बढ्दो निकटताले एमाले राजनीतिलाई नयाँ मोड दिएको छ ।

मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा भण्डारीलाई प्रमुख अतिथि बनाइनु सामान्य घटना थिएन । उक्त कार्यक्रममा विष्णु पौडेल, शंकर पोखरेल र रामबहादुर थापा ‘बादल’को उपस्थिति एमालेभित्र नयाँ शक्ति समीकरणको संकेतका रूपमा हेरिएको छ ।