धादिङ ।
फरार प्रतिवादीको खोजीमा पुगेको प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ होवाङबाट ठूलो परिमाणमा लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दहालका अनुसार लागूऔषध मुद्दामा यसअघि फरार रहेका विरबहादुर तामाङलाई शुक्रबार बिहान घरबाट ५१ किलाेग्राम १८० ग्राम अफिम सहित पक्राउ गरेको हाे ।
प्रतिबन्धित लागूऔषध अफिम एकैपटक यति ठूलाे परिणाममा फेला पारि बरामद गरिएको पहिलाेपटक हाे । शुक्रबार बिहान गरिएको खानतलासीका क्रममा तामाङको घर तथा गोठबाट ५१ किलोग्राम १८० ग्राम लागूऔषध अफिमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पाँचवटा प्लास्टिकका बाल्टीमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त पदार्थ फेला पारेको हो । बाल्टीसहित तौल गर्दा ५४ किलो ३२० ग्राम रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट एक नाले भरुवा बन्दुक, दुई थान डिजिटल तराजु तथा दुई थान मोबाइल समेत बरामद गरिएको छ । पक्राउ परेका विरबहादुर तामाङ यसअघि २०७५ सालमा ३०० किलो गाँजासहितको लागूऔषध मुद्दामा संलग्न रही फरार रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
सोही क्रममा प्रहरीले बेनिघाट रोराङ–२ कै विराज तामाङ र सानो कान्छा तामाङलाई पनि पक्राउ गरेको छ । उनीहरूको घरमा गरिएको खानतलासीका क्रममा थप दुई थान अवैध भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध लागूऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।











प्रतिक्रिया