काठमाडौं ।
नेपाल वायु सेवा निगमले विमान खरिदका लागि लिएको ऋणको सावाँ तथा ब्याज दायित्व ५५ अर्बभन्दा बढी पुगेको छ।
महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको कुल भुक्तानी दायित्व ५५ अर्ब ४ करोड ७८ लाख पुगेको उल्लेख गरिएको हो।
प्रतिवेदनअनुसार निगमले ए–३२० र ए–३३० जहाज खरिदका लागि नेपाल सरकारको जमानीमा २०७० असार ४ गते तथा २०७४ जेठ २८ गते ऋण सम्झौता गरेको थियो। त्यस क्रममा कर्मचारी सञ्चय कोषबाट रु २२ अर्ब तथा नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिइएको थियो।
हालसम्म कर्मचारी सञ्चय कोषतर्फ सावाँ र ब्याज गरी ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार तथा नागरिक लगानी कोषतर्फ रु २१ अर्ब १२ करोड १७ लाख भुक्तानी गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
महालेखापरीक्षकले निगमको वित्तीय अवस्था चुनौतीपूर्ण बन्दै गएको औँल्याउँदै ऋण व्यवस्थापन, सञ्चालन सुधार र आम्दानी वृद्धिका प्रभावकारी उपाय अवलम्बन गर्न सुझाव दिएको छ। निगमको कमजोर वित्तीय अवस्था र बढ्दो ऋणभारले दीर्घकालीन सञ्चालन क्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ।











प्रतिक्रिया