एक महिने पुरुषोत्तम महामहोत्सव सुरु, मुख्यमन्त्री बानियाँद्वारा उद्घाटन

 धार्मिक पर्यटन विकासमा प्रदेश सरकारले सघाउने

940
Shares

धादिङ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको नृसिंहधाममा एक महिने पुरुषोत्तम महामहोत्सव सुरु भएको छ ।

हरेक तीन वर्षपछि आउने पुरुषोत्तम (अधिक) महिनाको अवसर पारेर आयोजना गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले धार्मिक महोत्सवले धादिङको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले धर्मलाई मानव सभ्यता, संस्कृति र सत्यताको आधारका रूपमा व्याख्या गर्दै सत्य र मर्यादाको मार्ग अनुसरण गर्नुपर्ने धारणा राख्नुभयो ।

नृसिंहधाममा जल अर्पण गर्दै उहाँले नेत्रावती र बुढीगण्डकीको संगमस्थलमा अवस्थित यो धाम ऊर्जा र सभ्यतासँग जोडिएको महत्वपूर्ण स्थल भएको उल्लेख गर्नुभयो । बुढीगण्डकी जलविद्युत् आयोजनाको जलाशय निर्माणका क्रममा धार्मिक तथा पर्यटन क्षेत्रलाई संरक्षण र व्यवस्थित गर्ने विषयलाई डीपीआरमै समावेश गर्न पहल गरिने उहाँको भनाइ थियो । प्रदेश सरकारकाे आगामी नीति तथा कार्यक्रममा धार्मिक पर्यटन र जलाशय क्षेत्रसँग जोडिएका योजनालाई प्राथमिकता दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

नृसिंहधामका पीठाधीश डा. श्रीवास कृष्णदास ब्रह्मचारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मूल आयोजक समिति संयोजक फणिकान्त छत्कुलीले पुरुषोत्तम महिनाभर विभिन्न धार्मिक कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । पिठाधिस व्रम्हाचार्यका अनुसार महोत्सव अवधिभर श्रीमद्भागवत कथा, रामकथा, शिवमहापुराण, हनुमत कथा तथा श्रीमद् देवीभागवत कथालगायत दिव्य प्रवचन सञ्चालन गरिनेछ ।

मूल वाचक इश्वर कृष्ण महाराजले एक महिनासम्म पुरुषोत्तम महात्म्य कथा वाचन गर्नुहुनेछ । महोत्सवमा ११ हजार शालिग्राम स्थापना गरिने, करिब एक लाख सिद्ध श्री लक्ष्मी–नृसिंह यन्त्र पूजा गरी भक्तजनलाई वितरण गरिने तथा १०८ तीर्थस्थलको पूर्णाहुति गरिने आयोजकले जनाएको छ ।

यसैगरी, २८ गोत्रका लागि छुट्टाछुट्टै हवन कुण्ड निर्माण गरिएको छ । श्रद्धालुले आफ्ना पितृका नाममा दीपदान तथा हवन गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । पुरुषोत्तम महिनामा स्नान, जप, तप, दान र दीपदान गरे अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

oplus_2

स्कन्दपुराणमा उल्लेख भएको नृसिंहधाम उत्खननका क्रममा लिच्छविकालीन पुरातात्त्विक अवशेष फेला परेकाले यो क्षेत्र धार्मिकसँगै ऐतिहासिक र सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण रहेको बताइएको छ । धार्मिक मान्यताअनुसार भक्त प्रह्लादद्वारा स्थापित १२ नृसिंह पीठमध्ये नेपालमा रहेको एकमात्र पवित्र पीठ यही नृसिंहधाम रहेको विश्वास गरिन्छ ।

महोत्सव प्रारम्भअघि सल्यानटारमा बाजागाजासहित कलश यात्रा निकालिएको थियो । महोत्सवको पहिलो दिनको अवसरमा त्रिपुरासुन्दरी गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो । आयोजकका अनुसार महोत्सवमा देशका विभिन्न भागबाट १५ लाख श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ ।