टिकटकमार्फत ब्ल्याकमेल गरी आर्थिक लाभ लिने युवक पक्राउ


काठमाडौं ।

टिकटक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी महिलालाई ब्ल्याकमेल गर्दै दुःख हैरानी दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।

पिडित महिलाले आफ्नो फोटो सामाजिक सञ्जालमा राख्ने, व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर आर्थिक लाभ लिएको भन्दै उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीको प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–११ स्थायी घर भएका २३ वर्षीय समिर तामाङ संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

उनीलाई वैशाख ३० गते काठमाडौं महानगरपालिका–१३ कलंकीबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका तामाङलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।