आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत् कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले दोस्रो रोमाञ्चक जित निकालेको छ ।
पहिलो खेलमा आयोजक नेपाललाई २ रनले हराएर रोमाञ्चक जित हासिल गरेको स्कटल्यान्डले यसपटक अमेरिकालाई २ रनले हराएको हो । यो जितसँगैं स्कटल्यान्ड अंकतालिकामा अमेरिकालाई शीर्ष स्थानबाट झार्दै पहिलो स्थानमा उक्लियो । स्कटल्यान्डको ३८ अंक र अमेरिकाको ३६ अंक रहेको छ ।
वर्षाले गर्दा ४७ ओभरमा छोट्याएको खेलमा पहिले ब्याटिङ गरेको स्क्टल्यान्डले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ३२१ रन बनाएको थियो । टोलीका लागि फिनले म्याकग्राथले सर्वाधिक ७७ रन जोडे । यस्तै, ब्रेन्डान म्याकुलुमले ५५ रन र म्याथ्यु क्रसले ५८ रनको योगदान दिँदा टोली विशाल स्कोरमा पुगेको थियो ।
जवाफमा अमेरिकाले २६.४ ओभरमा ४ विकेटको क्षतिमा १६० रन बनाउँदा वर्षाले खेलमा बाधा तुल्यायो । यसपछि खेल सुचारु हुँदा नयाँ लक्ष्य ३२ ओभरमा २४९ रन बनाउनु पर्ने निर्धारित गरियो । जसमा, अमेरिकाले ८ विकेटको क्षतिमा २४६ रन मात्रै बनाउन सक्यो । अमेरिकाका लागि साइतेजा मुक्कमल्लले १०४ रनको शतक प्रहार गरेपनि टोलीको सुखद अन्त्य हुन सकेन ।











प्रतिक्रिया